राष्ट्रपति भण्डारी भारत प्रस्थान, यस्तो छ राष्ट्रपतिको भ्रमण तालिका

bidhya devhi bhandariकाठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने औपचारिक भ्रमणका लागि सोमबार भारत प्रस्थान गरेकी छन् । उनलाई उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, सरकारका मन्त्रीहरु लगायतले त्रिभुवन विमानस्थलमा विदाई गरेका थिए । राष्ट्रपति भण्डारी ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत प्रस्थान गरेकी हुन्। भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ लागेकी हुन्। राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रिगण तथा उच्च सरकारी अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाई गरेका छन्। भ्रमण दलमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्ति तथा पुनर्निर्माणमन्त्री सीतादेवी यादव, परराष्ट्र सचिव शंकरदास वैरागी, शिष्टाचार महापाल, राष्ट्रपति कार्यालयका सचिवलगायतको टोली सहभागी छ। राष्ट्रपति भण्डारी बिहान ११ बजेको नेपाल वायु सेवा निगमको फ्लाइटबाट भारत प्रस्थान गरेकी हुन्। राष्ट्रपतिको कार्यभार सम्हालेपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो। यसअघि गत २७ वैशाखमा भारत भ्रमणको तयारी भइरहेका बेला तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रपतिको भारत भ्रमण स्थगित गरेको थियो। त्यतिबेला सरकारले राष्ट्रपतिको भ्रमणका लागि तयारी नपुगेको भन्दै भ्रमण स्थगित गरेको बताएको थियो । यसअघि १७ कात्तिकमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालको राजकीय भ्रमणकै क्रममा भण्डारीलाई भारत भ्रमणको निम्तो दिएका थिए । भ्रमणका बेला राष्ट्रपति भण्डारी दिल्लीस्थित राष्ट्रपति भवनमा बस्नेछिन् । भ्रमणको पहिलो दिन ४ वैशाखमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आयोजना गर्ने रात्रिभोजमा राष्ट्रपति भण्डारी सरिक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। दिल्ली भ्रमणका क्रममा उनलाई भारतीय सेनाले ‘गार्ड अफ अनर’ (सलामी) अपर्ण गर्ने  कार्यक्रम छ। वैशाख ५ गते भारतीय राष्ट्रपति भवनमा आयोजना हुने कार्यक्रममा सहभागी भएको बेला राष्ट्रपति भण्डारीलाई गार्ड अफ अनर प्रदान गरिनेछ। भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय उपराष्ट्रपति मोहम्मद हामिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराजलगायत उच्च अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस्तै, भारत भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले सत्तारूढ दल भाजपाका साथै विपक्षी कांग्रेसका उच्च नेतृत्वसँग समेत भेट गर्ने कार्यक्रम रहेको छ। भारत भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले गुजरात र उडिसाको समेत भ्रमण गर्ने कार्यतालिका छ। राष्ट्रपति भण्डारी ८ वैशाख (शुक्रबार) स्वदेश फर्कनेछिन्। यस्तो छ भारतीय विदेश मन्त्रालयले तयार पारेको भ्रमण कार्य तालिका सोमबार १२ः४५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण मंगलबार ९ः०० बजे–औपचारिक स्वागत, राष्ट्रपति भवन ९ः३० बजे–महात्मा गान्धीको समाधिस्थल राजघाटमा माल्यार्पण ११ः३० बजे–भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता, राष्ट्रपति भवन १२ः १५ बजे–गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता, राष्ट्रपति भवन १५ः४५ बजे–वित्तमन्त्री अरुण जेट्लीसँग भेटवार्ता, राष्ट्रपति भवन १६स्३० बजे ( प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता, राष्ट्रपति भवन १७ः३० बजे–उपराष्ट्रपति मोहम्मद हामिद अन्सारीसँग भेटवार्ता, राष्ट्रपति भवन १९ः३० बजे–भारतीय समकक्षी प्रणव मुखर्जीसँग शिष्टाचार भेटवार्ता, राष्ट्रपति भवन बुधबार १०ः०० बजे–गुजरात प्रस्थान, गुजरातमा आयोजना हुने कार्यक्रममा सहभागी १२ः४५ बजे–सोमनाथका लागि प्रस्थान, त्यहाँ आयोजना हुने कार्यक्रममा सहभागी १४ः४५ बजे–द्वारका प्रस्थान, त्यहाँ आयोजना हुने कार्यक्रममा सहभागी १७ः३० बजे–राजकोट गुजरात प्रस्थान बिहीबार १०ः३० बजे–भुवनेश्वर प्रस्थान, त्यहाँ हुने कार्यक्रममा सहभागी शुक्रबार ९ः०० बजे–उडिसाका लागि प्रस्थान, पुरीमा हुने कार्यक्रममा सहभागी १४ः३० बजे–नयाँ दिल्ली फिर्ता १७ः३० बजे–दिल्लीबाट काठमाडौं प्रस्थान

प्रतिक्रिया

सम्बन्धित