पोर्चुगलमाथि जर्मनीको रवाफिलो जित, दोस्रो चरण प्रवेशको सम्भावना कायमै

Ronaldo

काठमाडौं । युरो २०२० मा जर्मनीले पोर्चुगललाई पराजित गर्दै पहिलो जित हात पारेको छ ।

शनिबार राति सकिएको खेलमा जर्मनीले पोर्चुगलको दुई आत्मघाती गोलको मद्दतले ४—२ को जित हात पार्दै अर्को चरण प्रवेशको सम्भावना कायमै राखेको छ ।

यसअघि पहिलो खेलमा जर्मनीलाई फ्रान्सले हराएको थियो। पोर्चुगलले भने हंगेरीमाथि जित निकालेको थियो।

क्रिस्टियानो रोनाल्डोले खेलको १५ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए। काउन्टर आक्रमणमा जोटाले दिएको पासमा रोनाल्डोले गोल गरे। त्यसपछि पोर्चुगलका रुबेन डियासले आप्mनै पोष्टमा गोल गर्दा जर्मनीले १—१ को बराबरी गर्न सफल भयो । त्यसलगत्तै पोर्चुगलका गुइरेरोले दोस्रो आत्मघाती गरेपछि जर्मन २—१ ले अगाडि रह्यो ।

पहिलो हाफमा २–१ ले अघि रहेको जर्मनीले ५१ मिनेटमा तेस्रो गोल गर्‍यो। यसपटक हाभर्ट्जले गोल गर्न सफल भए।

६० मिनेटमा जर्मनीका लागि रोबिन गोसेन्सले अर्को गोल गरेपछि जर्मनी ४–१ ले अघि बढ्यो।

६७ मिनेटमा पोर्चुगलका लागि जोटाले दोस्रो गोल गर्दा खेल ४–२ को अवस्थामा आएको थियो।

अब लिगचरणको अन्तिम खेलमा पोर्चुगलले फ्रान्सको सामना गर्नेछ भने जर्मनीले हंगेरीको सामना गर्नेछ ।

जितसँगै जर्मनीले समूह एफमा तीन अंक जोडेको छ। शीर्ष स्थानको फ्रान्सको चार अंक छ। फ्रान्सले आजै भएको खेलमा हंगेरीसँग १–१ को बराबरी खेल्यो। पोर्चुगलको पनि तीन अंक छ भने हंगेरीले एक अंक बटुलेको छ।

 

प्रतिक्रिया

सम्बन्धित