अाईजीपी अर्यालले भने - प्रतिस्पर्धाको दौडमा एक जना मात्रै पहिलो हुन्छ, प्राकृतिक कुरालाई अरुले स्वीकार्नु पर्छ

igpprakashकाठमाडौँ  । प्रहरी महानिरीक्षक (अाईजीपी) प्रकाश अर्यालले अपराध अनुसन्धान तथा नियन्त्रण मार्फत मुलुकमा शान्ति सुरक्षा बहाल राख्दै आमनागरिकको सेवामा समर्पित रहने सामुहिक प्रयास र जिम्मेवारी बोध सबै प्रहरी कर्मचारीले उत्तिकै उमंग र उत्साहका साथ मन, वचन र कर्मले गर्नुपर्नेमा जोड दिएका छन् ।

  अाईजीपी बनेपछि प्रहरी मुख्यालयमा आयोजित बिशेष समारोहमा प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै अर्यालले भने - ' म तपार्इंहरुको प्रिय महानिरीक्षक बन्ने प्रयास गर्नेछु । जुनसुकै दर्जाका प्रहरी कर्मचारीको गुनासो सुन्न सक्ने गरी अभिभावकीय भूमिका निर्वाह गर्नेछु ।' सङ्गठनको व्यावसायिकता र प्रभावकारिता बढाउने आफ्नो प्राथमिकता रहेको बताउँदै उनले अवाञ्छित गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याइने दृढता व्यक्त गर्दै त्यसमा कसैको प्रभाव र दबाब स्वीकार नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

 अर्यालले साङ्केतिक रुपमा आफ्नो प्रतिस्पर्धी रहेकाहरुलाई एकताबद्ध भएर काम गर्न आग्रह गरे । उनले भने, 'नेतृत्वमा प्रतिस्पर्धा हुनु प्रकृतिको नियम हो, प्रतिस्पर्धा भइसकेपछि दौडमा एक जना मात्रै पहिलो हुन्छ, प्राकृतिक कुरालाई अरुले स्विकार्न सक्नुपर्छ ।' आफ्ना सहकर्मीलाई साथमा लिँदै गुनासो मत्थर गर्न आफूले सक्दो पहल गर्ने उनको भनाइ छ ।

 कार्यक्रममा अाईजीपी अर्याललाई स्वागत तथा बधाई दिँदै यसअघि निमित्त महानिरीक्षकको जिम्मेवारी सम्हालेका डा .दिनेशचन्द्र पोेखरेलले प्रहरी सङ्गठनमा अनुशासन र ‘चेन अफ कमान्ड’ खुकुलो बन्दै गएको गुनासोलाई नयाँ महानिरीक्षकले विशेष रुपमा लिन आग्रह गरे । सो अवसरमा प्रहरीको एक टुकडीले अर्याललाई सम्मान अर्पण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित