रिल हिरो पल भए ‘रियल हिरो’

Paul Shah

काठमाडौं । अभिनेता पल शाहलाई ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित गरिएको छ । कोरोना महामारीका कारण बेरोजगार बनेका चलचित्रकर्मीहरुलाई राहत सहयोग गर्न सुरु गरिएको ‘रजतपट कोशेली अभियान’ले पललाई उक्त सम्मानबाट सम्मानित गरेको हो । कोरोना भाइरस पीडितको उद्दार र सहयोगमा लागि परेका पललाई सोही सामाजिक कामको लागि यो सम्मान गरिएको रजतपट कोशेलीका प्रकाश सुवेदीले जानकारी दिए ।

सोमबार काठमाडौंमा आयोजित सहयोग कार्यक्रममा पललाई उक्त सम्मान दिइएको थियो । यद्यपि उनी राहत वितरणकै लागि काठमाडैं बाहिर रहेको कारण सम्मान लिन उनी नआएको सुवेदीले बताए । उनको सम्मान पत्र अभिनेता भुवन केसीले पढेर सुनाएका थिए ।

सोमबार सम्मान ग्रहण गर्न नपाएका पलले मंगलबार उक्त सम्मान लिएका छन् । सम्मानपछि उनले सहयोगका लागि मनदेखि भावना आउनुपर्ने बताएका छन् । आफूलाई मनदेखि सहयोगको भावना रहेको र पछिसम्म रहने उनको भनाइ छ । यो सम्मान पाउ“दा भावुक भएको बताउ“दै उनले सम्मान पाउनका लागि आफूले सामाजिक काम नगरेको बताए । अरुलाई देखाउनकै लागि सहयोग गरेका फोटोहरु फेसबुकमा धेरै हालेको भन्नेहरुलाई पनि उनले जवाफ दिएका छन् ।

उनी भन्छन्, ‘मलाई धेरैले सहयोग गरेका फोटोहरु फेसबुकमा धेरै किन हाल्छस् भनेर भन्नुहुन्छ । त्यो मैले देखाउनका लागि हालेको होइन । अरुलाई इन्स्पायर्ड गर्नका लागि हो । मैले काम गरेँ भनेर भन्न होइन कि तपाईंहरु पनि गर्नुहोस् भन्नका लागि हो । समस्यामा परेकालाई हामी सबैले सकेको सहयोग गर्नुपर्छ ।’ उनले अब सामाजिक कार्यलाई पनि निरन्तरता दिने बताएका छन् ।

सोमबारको कार्यक्रममा बिरामी परेकी मोडल निशा घिमिरेलाई ११ लाख सात हजार आठ सय रुपैया“ सहयोग पनि गरिएको छ । यो सहयोग नेपाल र नेपाल बाहिर रहेका विभिन्न कलाकर्मीहरूको पहलमा जुटेको थियो ।

निशालाई निशुल्क उपचारको प्रबन्ध गरेकी मेघा चौधरीलाई पनि सम्मानित गरिएको छ । मेघाको सम्मानपत्र नवजीवन परोपकार समाज नेपालका दुर्गानाथ दाहालले बुझेका थिए । दाहालले नै निशाको अवस्था मेघासम्म पु¥याई उपचारको लागि पहल गरेका थिए ।

टेलिभिजन कार्यक्रम ‘रजतपट’को सहयोग अभियानले हालसम्म ४ सय बढी कलाकर्मीहरु तथा अन्य पीडितलाई राहत प्रदान गरिसकेको छ । सोमबार पनि १८ जना कलाकर्मीहरुलाई सहयोग गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित