एफएनसीसीआईमा सहमतिको नाममा गुटवन्दी, विधान विपरित चल्दै राणा

fnniकाठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको भावी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका दुई प्रत्यासीबीच सहमति गराउने नाममा पूर्व पदाधिकारीहरु र वर्तमान बरिष्ठ उपाध्यक्षले चलखेल शुरु गरेका छन् । छुट्टा–छुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका किशोरकुमार प्रधान र शेखर गोल्छावीच सहमतिको नाममा आफ्नो पकड जमाउन वरिष्ठ उपाध्यक्ष भवानी राणाले विधान विपरित लविङ गरिरहेकी छन् । चैत २९ हुने महासंघको २१ औं साधरणसभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दैछ ।

 गोल्छा वर्तमान एसोसिएट उपाध्यक्ष हुने भने प्रधान जिल्ला नगर उपाध्यक्ष हुन् । दुबै समूहले प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन् । महासंघको हालको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेकाले चैत २९ गते पछि राणा महासंघको अध्यक्ष बन्नेछिन् ।

 यसरी स्वतः अध्यक्ष हुन लागेकी राणा तटस्थ बस्नु पर्नेमा गोल्छा समूहलाई आधिकारीक उम्मेदवार भन्दै हिड्न थालेकी छन् । मंगलबार अन्नपूर्ण होटलमा उनले महासंघको विधान विपरित मेरो समर्थन गोल्छा समूहलाई छ भन्दै अभिव्यक्ति दिएपछि उनी विवादमा मुछिएकी हुन् । त्यसो त सहमतिको कुनै एजेण्डा नै नभएपनि अध्यक्ष पशुपति मुरारकाले पनि बुधबार सहमतिको प्रयास स्वरुप बैठक डाकेका थिए । आगामी निर्वाचनका लागि दुबै पक्षले प्यानलसहित मनोनयन दर्ता गराइसकेको अवस्थामा सहमतिको प्रयास खोज्नु नाटक शिवाय केही होइन । मुरारकाको प्रयासलाई किशोर प्रधान समूहले नाटक भन्दै चासो दिएन ।

 त्यसैगरी गोल्छा समूहलाई विवादास्पद पूर्व अध्यक्ष चण्डीराज ढकालले समर्थन गरेपछि यो समूह पनि विवादमा मुछिएको छ । किनकी ढकाल बैंक डिफल्टर हुन् भने उनले २०५३ सालमा राष्ट्रिय बाणिज्य बैंकबाट लिएको ३० करोड ऋणको व्याज सहित साढे दुई अर्व पुगिसक्दा पनि तिरेका छैनन् । बैंकले उनलाई पटक–पटक कालो सूचीमा राखेपनि महासंघको विधान विपरित उनलाई विधान संशोधन समितिको संयोजक बनाइएको थियो ।ढकालसहित पूर्व अध्यक्षहरु सुरज बैद्य र कुशकुमार जोशीको दबाबमा एसोसिएट उपाध्यक्षका प्रत्यासी सौरव ज्योतीलाई उम्मेदवारी फिर्ता गर्न बाध्य बनाइएको थियो ।

 ज्योतीले उम्मेदवारी फिर्ता लिएपछि एसोसियट उपाध्यक्षमा हुण्डी र डलर कारोबारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष अनुसन्धान महाशाखाले खाता मगाएर अनुसन्धान गरिरहेका ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकाल निर्विरोध भएका छन् । ढकालको शंकास्पद कारोबारबारे अख्तियारको विशेष अनुसन्धान महाशाखाका रितेशकुमार शाक्यले अख्तियार प्रमुखलाई अन्तिम प्रतिवेदन बुझाउन लागेको स्रोतको भनाई छ ।

 महासंघको वरिष्ठ उपाध्यक्ष, वस्तुगत तर्फको उपाध्यक्ष, जिल्ला नगरतर्फको उपाध्यक्षमा भने दुवै प्यानबीच कडा प्रतिश्पर्धा हुने भएको छ । प्रदेश सदस्यमा समेत दुवै पक्षका उम्मेदवार कडा प्रतिस्पर्धामा देखिएका छन् । केन्द्रिय सदस्यमा समेत केही पुराना सहित नयाँ अनुहारका प्रभावशाली व्यवसायी प्रतिस्पर्धामा छन् ।

  गोल्छा समूहवाट कृष्ण प्रसाद श्रेष्ठ, वासुदेव गौतम, आकाश अधिकारी, हेमराज ढकाल, अञ्जन श्रेष्ठ, रविन श्रेष्ठ, कमला श्रेष्ठ, जय शिवाकोटी, सन्दिप अग्रवाल, सुरेन्द्र श्रेष्ठ, सुनिलगोपाल श्रेष्ठ, आकाश अधिकारी, खेमराज पन्त, हेमराज शाक्य, विनोद ढकाल, लोकनाथ गैरे लगायतले सदस्यमा उम्मेदवारी दिएका छन् । यस्तै, प्रधानसमूहवाट कल्याण जोशी, खुसनारायण सैंजु, मनिष लालप्रधान, युवक राजभण्डारी, राजेन्द्र श्रेष्ठ, सन्तोष खतिवडा, अशोक शर्मा, सुकुन्तलाल हिराचन, शिव प्रसाद घिमिरे, हंशराज वाग्ले लगायतले आफ्नो उम्मेदवारी दिएका छन् ।

 यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ 

प्रतिक्रिया

सम्बन्धित