सर्वोच्चले योग्य देखेका सिलवाललाई अख्तियारको ठुलो झट्का

silwal proffकाठमाडौं । सर्वोच्च अदालतले अन्य डिआईजी भन्दा सिनियर र कार्य सम्पादनमा आगाडि रहेको भन्दै प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गर्न योग्य देखेका डिआईजी नवराज सिलवालमाथि आपत आइलागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवाल र उनको मिटरव्याज प्रकरणमाथि गम्भिर रुपमा छानविन अगाडि बढाएका कारण सिलवाल समस्यामा पर्न लागेका हुन् । सिलवालमाथि जग्गा किनबेच गर्दा राजश्व छलि गरेको भन्दै अख्तियारले अनुसन्धान थालेको छ ।

 जुन कुराको तथ्य अख्तियारले लिखत रुपमा नै सिलवाल विरुद्धका उजुरीकर्ता अर्थात सिलवालका कुनै समयमा ‘मिटरव्याज’ का साझेदार गुनबहादुर थापा(शम्भु)का छोरा सागर थापालाई जानकारी दिइसकेको छ । अख्तियारले गत फागनु १८ गते सागरलाई दिएको पत्रमा भनिएको छ–‘तपाईले निवेदनमा उठान गर्नु भएको विषयमा आयोगबाट छानविन एवम् अनुसन्धान भइरहेको हुँदा सोही बमोजिमको व्यहोरा अवगत गर्नुहुन अनुरोध छ ।’ स्रोतका अनुसार सिलवाललाई अख्तियारले पनि बयानका लागि पत्राचार गरिसकेको छ । आफ्नो बुबालाई विभिन्न आरोप र झुट्टा मुद्दाहरु लगाएर अबैध रुपमा पैसा असुली मानसिक यातना दिंदै सिलवालले फसाउँदै आएको र राजश्व छली गरेको भन्दै सागरले अख्तियारमा उजुरी दिएका थिए ।

 अख्तियारको ४ नम्बर महाशाखाले २०७३ कार्तिक १ गते त्यस विषयमा के भएको हो भनेर प्रहरी प्रधान कार्यालय नक्साललाई चलानी नम्वर ५५२ राखेर प्रतिक्रिया मागेको थियो । प्रहरी प्रधान कार्यालयले अख्तियारलाई जवाफ पठाइसकेको र त्यस बिषयमा निर्णय हुन बाँकी रहेको अख्तियार स्रोतको भनाई छ । हाल केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईवी) मा कार्यरत डिआइजी सिलवालले कुमारराज शर्माको नाममा रहेको मकवानपुर जिल्ला ज्यामिरे गाबिस वडा नं.७(क) कि.न ८७ क्षेत्रफल. १–८–१/२ (१ बिगाह, आठ कठ्ठा आधा धुर ) जग्गा आफ्नो नाममा पास गर्दा राजश्व छली गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

 सिलवालले २०६७/७/१४ मा र.नं.५८७ (क) बाट शर्माको नामबाट आफ्नोमा रजिष्ट्रेशन पास गरेको खुलेको छ । शर्मा गुनवहादुर थापाका साझेदार पनि हुन् । उक्त जग्गा मालपोतको मुल्याङ्कनले कठ्ठाको ६ लाख रहेको र जग्गाको पुरै मुल्याङ्कन गर्दा १ करोड ६८ लाख भै राजश्वबापत ३ प्रतिशतको दरले ५ लाख ४ हजार तिर्नु पर्नेमा सिलवालले ७६ हजार मात्र तिरेर राजश्व छली गरेको भन्दै उजुरी परेको थियो । जुन विषयमा अख्तियारले अनुसन्धान गरिरहेको भन्दै सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालले सागरलाई जानकारी गराएका छन् । त्यसो त । आफ्नो बुबालाई विभिन्न आरोप र झुट्टा मुद्दाहरु लगाएर अबैध रुपमा पैसा असुली मानसिक यातना दिंदै सिलवालले फसाउँदै आएको र राज्यका कुनै पनि निकायले छानविन नगरेको भन्दै सागरले सर्वोच्च अदालतमा पनि सिलवालसहित राज्यका बिभिन्न निकाय बिरुद्द कारवाहीका लागि परमादेश जारी गरी पाउँ भन्दै निबेदन समेत दिएका थिए ।

 तर, सर्बोच्चका न्यायधिस ईश्वर खतिवडाको इजलासले फागुन ४ गते उक्त रिट खारेज गर्दै भनेको छ– ‘प्रहरी नियमावलीले तोकेअनुसार केही आचरण र नियमहरु पालना नगरेको भन्ने सन्दर्भमा विचार गर्दा यो विषय सम्बन्धित विभागीय प्रमुव वा अख्तियारले हेरी निरोपण गर्नुपर्ने विषय देखिन्छ ।  आचरण पालना सम्बन्धी प्रारम्भिक क्षेत्राधिकार विभागीय कारबाही गर्ने अर्थात कानूनतः आचरणगत विषयमा अनुगमन र मूल्यांकन गरी पदीय अनुशासन कायम राख्न लगाउने कानून बमोजिनम कर्तव्य तोकिएको निकाय वा पदाधिकारीमा रहने देखिन्छ ।

 त्यस प्रकारको निकायमा उजुर गरी ध्यानाकर्षण गराउने कार्य पीडित पक्ष वा सरोकारवालाबाट हुन सक्ने नै हुन्छ ।’ आईजीपी बन्नका लागि उच्च नैतिक चरित्र र आचरणमा दाग नलागेको योग्य प्रहरी हुनुपर्ने कानुनी प्राबधान रहेको हुँदा सर्वोच्चले योग्य देखेपनि अख्तियारले भने डिआईजी सिलवालमाथि अनुसन्धान थालेका कारण सिलवाल अयोग्य भन्ने संभावना देखिएको छ ।

 अख्तियारमा लोकमानसिंह कार्की प्रमुख रहँदा सिलवालको उक्त उजुरी लुकाएर राखिएको थियो । तर, अख्तियारबाट लोकमान निलम्वित भएसँगै सिलवाल छानविनको दायरामा तानिएका हुन् । सिलवालमाथि थापालाई मानव ओसारपसार र बैंकिङ कसुर जस्तो झुटो मुद्दा लगाएर फसाएको विषयमा पनि अख्तियारले अनुसन्धान गर्ने बताएको छ ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित