शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप, १२ शिक्षक घाइते

bheemdutta

कञ्चनपुर । लामो समयदेखि शिक्षक दरबन्दी मिलानलगायतका विषयमा असहमति जनाउँदै  कञ्चनपुरको भीमदत्तनगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच झडप भएको छ ।

नेपाल शिक्षक सङ्घ कञ्चनपुरले कार्यविधि मिचेर र प्रक्रियालाई बेवास्ता गरी विभेदपूर्ण तवरले शिक्षक दरबन्दी मिलान गरेको जनाउँदै धर्ना सुरु गरेको थियो । सङ्घका सचिव नवीनसिंह धामीले ३५ दिनदेखि आन्दोलनरत हुँदा नगरपालिकाले सुनुवाइ नगरेको अरोप लगाए । उनले प्रहरीको झडपमा परी १२ सामान्य घाइते भएको बताए ।

घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको सङ्घले जनाएको छ । सङ्घका सचिव धामीले नगरपालिकाको शिक्षा शाखामा गत साउन ३ गतेदेखि तालाबन्दी रहेको बताए। यसअघि पनि नगरपालिकामा रहेका नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले शिक्षकको माग पूरा नगरेको जनाउँदै कार्यपालिका बैठकसमेत बहिष्कार गरेको थियो ।

आज आन्दोलनमा पार्टीका भ्रातृ सङ्गठनले आन्दोलनमा ऐक्यबद्धता जनाउन आएका बेला प्रहरी र नगरप्रहरीले लाठी चार्ज गरेको शिक्षकको आरोप छ । आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा ढुङ्गामुढासमेत भएको  छ ।

प्रतिक्रिया

सम्बन्धित