प्रधानमन्त्री देउवा भन्छन्, ‘महामारी नियन्त्रणका लागि सबैको सहयोग आवश्यक पर्छ

Sher Bahadur Deuba

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि  दक्षिण–पूर्वी एशियाली देशबीच सहयोग आवश्यक रहेको बताएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एशियाली राष्ट्रको क्षेत्रीय समितिको आजदेखि यहाँ शुरु भएको ७४औँ बैठकलाई भर्चुअलरुपमा सम्बोधन गर्दै देउवाले कोरोना महामारीले जीवन, जनस्वास्थ्य तथा सामाजिक सुरक्षामा असर पारेको भन्दै अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरबाट महामारी रोक्न सबैको सहयोग आवश्यक रहेको बताए।

उनले नेपालले स्वास्थ्य प्रणालीले अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा क्षमताभन्दा बढी भार थेग्नु परिरहेको अहिलेको अवस्थामा यस क्षेत्रका मानिसको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि बैठकले महत्वपूर्ण निर्णय लिने बताए । देउवाले मानवताका लागि नेपालले खोप, औषधि, उपकरण तथा प्रविधिमा समतामूलक पहुँच सुनिश्चित् गर्नु आवश्यक रहेको र  पहुँच नपुगकाहरुलाई  प्राथमिकतामा राखेको बताए ।

प्रधानमन्त्री देउवाले नेपालतर्फबाट स्वास्थ्यमन्त्रीको हैसियतमा अध्यक्षतामा ग्रहण गरेका छन् । बैठकमा स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले सबै मिलेर कोरोना भाइरस रोकथाम गर्नुपर्ने बताए । उनले अहिले नेपालमा एक करोडभन्दा बढीले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेको भन्दै आगामी असोज महिनाभित्रमा नै ३३ प्रतिशतलाई खोप लगाउने जानकारी दिए ।

विश्वस्वास्थ्य सङ्गठनका महानिर्देशक डा टेद्रोस अधानोम घेब्रेसियसले कोभिड–१९ महामारीले अभैm पनि जीवन, जीविका, समाज तथा अर्थतन्त्रमा क्षति पु¥याइरहेको बताए। दक्षिण–पूर्वी क्षेत्रमा गत वैशाखमा सङ्क्रमणको सङ्ख्या बढेकोमा हाल आएर सङ्क्रमण तथा मृत्युको सङ्ख्यामा कमी आएको देख्दा आफूलाई खुसी लागेको बताए।

‘देशपिच्छे र ठाउँपिच्छे फरकफरक अवस्था विद्यमान छ र केही स्थानहरूमा तीव्र सङ्ख्यामा सङ्क्रमण वृद्धि भइरहेको र अस्पताल भरिएको अवस्था छ’ उनले भने, ‘हामीले अब भविष्यमा फेरि यस्तो ठूलो महामारी हुन दिनुहुँदैन ।’

क्षेत्रीय निर्देशक डा पुनम खेत्रपालले कोभिड–१९ ले हाम्रा स्वास्थ्य प्रणालीलाई निकै ठूलो क्षति पु¥याएको बताए। नेपालले यस सम्मेलनदेखि आगामी एक वर्षका लागि समितिको अध्यक्षका रुपमा कार्य गर्ने छ । बैठकमा दक्षिण पूर्वी एशियाली राष्ट्रहरुमा विश्व स्वास्थ्य सङ्गठनका कार्यक्रम, नीति, बजेटको समीक्षा तथा स्वीकृति गर्नुको साथै कोभिड–१९ लगायतका अन्य समसामयिक जनस्वास्थ्यका मूल मुद्दामा गहन छलफल गरिने छ ।

यसका साथै नेपालले प्रस्ताव गरेअनुसार कोभिड–१९ का सन्दर्भमा स्वास्थ्यको सर्वव्यापी पहुँच कसरी बढाउने भन्ने विषयमा समेत छलफल हुनेछ ।

बैठकमा समेटिएका ११ राष्ट्र नेपाल, बङ्गलादेश, भारत, भुटान, श्रीलङ्का, माल्दिभ्स, थाइल्याण्ड, उत्तर कोरिया, इन्डोनेसिया, म्यानमार, पूर्वी टिमोरका स्वास्थ्यमन्त्री सहभागी छन्् ।

प्रतिक्रिया

सम्बन्धित