चार दिन भित्रै प्रत्यक्षको मत परिणाम आउने

काठमाडौँ  । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चार दिनभित्र प्रत्यक्ष र आठ दिनसम्ममा समानुपातिकको मतगणना गरी सक्ने व्यवस्था मिलाएको छ ।  मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीका सम्बन्धमा जानकारी दिँदै निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सानो र छरितो मतपत्र भएकाले मतगणना निकै छिटो ढंगबाट अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

 उपलब्ध स्रोत साधनबाट सम्भव हुने अवस्थामा मतगणना स्थलमा सीसीटिभी जडान गर्ने व्यवस्था गरिएको पनि आयोगले जनाएको छ । मतगणना प्रतिनिधिलाई प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार परिचयपत्र उपलब्ध गराउँदा मतगणना प्रतिनिधिको फोटो अनिवार्यरूपमा टाँसेर मात्र उपलब्ध गराउन आयोगले निर्देशन दिएको छ । दोस्रो चरणको निर्वाचनको मतदान सम्पन्न भएपछि पहिलो चरणमा मतदान भएका ३२ जिल्लामा मतगणना कार्य शुरु हुनेछ ।

 दोस्रो चरणमा मतदान भएको जिल्लामा सबै मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन भएपछि मात्र मतगणना शुरु हुने निर्वाचन आयुक्त पौड्यालले जानकारी दिनुभयो ।   उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि, सञ्चारकर्मी, कर्मचारी वा मतगणनास्थलमा प्रवेश पाउने कुनै व्यक्तिलाई मतगणनास्थलमा प्रवेश गर्न दिनुअघि अनिवार्यरूपमा सुरक्षा जाँच गरेरमात्र प्रवेश दिने व्यवस्था गर्न आयोगले मुख्य निर्वाचन, अधिकृत, निर्वाचन अधिकृत र सुरक्षा निकायलाई भनेको छ ।

  प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दोस्रो चरणमा ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रमा मंसिर २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ । आयोगका अनुसार, दोस्रो चरणको निर्वाचनको मतदान केन्द्रित तयारीका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत सबै मतदान केन्द्रमा पुगिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित