सम्पदा, स्वास्थ्य र सफाइको क्षेत्रमा मध्यपुरथिमिको काम अनुकरणीय

madhnyapur

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले पछिल्ला साढे चार वर्षमा सम्पदा, स्वास्थ्य र सरसफाइको क्षेत्रमा गरेका काम अनुकरणीय रहेको सरोकारवालाहले बताएका छन् । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना र मध्यपुरथिमि नपाको समन्वयमा आज सञ्चालन भएको ‘नेपाल कोरियामैत्री नगरपालिका अस्पताल र जापानी रिकिसी कम्पोष्ट मल प्रविधि’ विषयक अन्तक्र्रियाका सहभागीहरूले त्यस्तो बताएका हुन् ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नपाले सम्पदा, स्वास्थ्य र सरसफाइको क्षेत्रमा गरेका काम अनुकरणीय रहेको चर्चा गरे । उनले नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले कोभिड–१९ प्रतिकार्यमा गरेका कार्य, रिकिसी कम्पोष्ट मल उत्पादन र कला, सम्पदा तथा पोखरी संरक्षणमा हालसम्म भए गरेका कार्य अन्य नगरपालिकाका लागि पनि अनुकरणीय रहेको बताए ।

तीन दर्जन बढी सञ्चारकर्मीको सहभागितामा सम्पन्न पत्रकार अन्तक्र्रियामा मध्यपुरथिमि नपाका प्रमुख श्रेष्ठले चार वर्षमा आफ्नो नेतृत्वमा सम्पन्न उत्साहजनक कामको विवरण प्रस्तुत गरेका थिए । नेपाल कोरियामैत्री नगरपालिका अस्पताल कसरी नमूना बन्न सफल भयो भन्ने सम्बन्धमा उक्त अस्पतालका कार्यकारी निर्देशक डा ज्ञानकृष्ण कायस्थले विवरण प्रस्तुत गरेका थिए।

साथै जापानी रिकिसी कम्पोष्ट मल प्रालिका प्रोप्राइटर उषा गिरीले दक्षिण एसियामा नै पहिलोपटक कसरी जापानी प्रविधिको रिकिसी मल उत्पादन सम्भव भयो भन्नेबारेमा तथ्याङ्कसहित प्रगति प्रस्तुत गरेकी थिइन्। त्यसअवसरमा सेजनका निवर्तमान अध्यक्ष तथा सञ्चारकर्मी भीम गौतमले विकास पत्रकारिता र थिमि नपाका योजना महाशाखा प्रमुख ईं सत्यनारायण शाहले बिकास योजनाबारे प्रस्तुति दिए।

थिमि नपाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले नगरको विकासमा सबै जनप्रतिनिधिको उत्तिकै भूमिका रहेको चर्चा गरिन् । प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले सरोकारवाला सबैको सहयोगले नगरपालिकाको मुहार फेरिएको बताए। राष्ट्रिय सञ्चार केन्द्र नेपालका अध्यक्ष पेशल आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई  मध्यपुरथिमि नगरपालिकाका प्रमुख श्रेष्ठले सम्मान गरे।

प्रतिक्रिया

सम्बन्धित