विधान महाधिवेशनको तयारी स्वरुप आज पनि एमाले स्थायी कमिटी बस्दै

Emale Party Office

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आइतबारदेखि सुरु भएको बैठक आज दिउँसो १ बजे पुनः बस्ने एमालेले जनाएको छ ।

बैठकमा विधान महाधिवेशनमा पेस गरिने विधान संशोधन प्रस्ताव, राजनीतिक र साङ्गठानिक प्रतिवेदन पेस भई छलफल जारी रहेको एमालेका केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् । आइतबारको छलफलमा नेताहरू युवराज ज्ञवाली, घनश्याम भुसाल, अमृतकुमार बोहरा, केशव बडाल, डा. पुष्प कँडेलले भाग लिएका थिए ।

एमालेको विधान महाधिवेशन १५ देखि १७ असोजसम्म ललितपुरको गोदावरीमा हुने तय भएको छ ।

एमालेको केन्द्रीय कमिटीको गत २५ साउनमा सम्पन्न केन्द्रीय कमिटीको बैठकको निर्णयका आधारमा तयार विधानको मस्यौदा प्रस्ताव मातहतका कमिटीमा सुझावका लागि पठाएको थियो । विधानमा पार्टीको प्रमुख पदमा उमेर हद, कमिटीमा निर्वाचन प्रणाली, सङ्घीयता अनुकूलका व्यवस्थामा छलफल भइरहेको जनाइएको छ ।

प्रतिवेदनमा स्थायी कमिटीका प्राप्त सुझावका आधारमा यही ८ र ९ असोजमा बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिने जनाइएको छ ।

एमालेको १०औं राष्ट्रिय महाधिवेशन आगामी १० देखि १२ मंसिरमा हुने तय गरिएको छ। एमालेले राष्ट्रिय महाधिवेशन पूर्व असोजभित्र सदस्यता नवीकरण, वडा र पालिकास्तरका अधिवेशनको कार्यतालिका बनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित