किन अघि बढेन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य
शिलान्यास भएको एक वर्ष हुँदासम्म पनि बाढी तर्काउन नाला बनाउने र विमानस्थलसम्म पुग्ने पहुँच मार्ग बनाउने बाहेक अरु नयाँ काम हुन नसकेकोे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका सिनियर इन्जिनियर चन्द्रमणि सापकोटाले जानकारी दिनुभयो । उहाँले अब केही दिनपछि विमानस्थल निर्माणको नयाँ काम सुरुवात हुने विश्वास दिलाउनुभयो । सन् २०२० को जुलाईसम्ममा विमानस्थलको काम सम्पन्न गर्नेगरी चीनको सिएमसिइ इन्जिनियरिङ कम्पनीले ठेक्का लिएको थियो । विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले करिब रु २१ अर्ब ऋण उपलब्ध गराएको छ ।
रङ्गशाला प्रवेश अब सशुल्क
यसैबीच, अब शुल्क तिरेर मात्रै पोखरा रङ्गशालामा प्रवेश गर्न पाइने भएको छ । जिल्ला खेलकुद विकास समितिको बुधबार बसेको सर्वपक्षीय बैठकले रङ्गशालामा जोसुकै पनि रङ्गशालामा प्रवेश गर्ने र फोहरमैला गर्न थालेकाले प्रवेशका लागि पासको व्यवस्था गर्ने र केही शुल्क लिने निर्णय गरिएको समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहान घुमफिर गर्न आउने व्यक्तिका लागि वार्षिक रु ५०० शुल्क र अन्य व्यक्तिका लागि पनि केही निश्चित रकम लिएर मात्रै प्रवेश गराउन बैठकका सहभागीले सुझाव दिएका थिए । समितिले रङ्गशालाको गेटमा सुरक्षाकर्मी राख्ने र यात्रु पास लिएर मात्रै रङ्गशाला प्रवेश गर्न पाउने र बाहिर निस्कँदा पास बुझाएर जान सकिने व्यवस्था गरिनेछ । सबै खेलाडीलाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिनेछ । बैठकको अध्यक्षता समितिका अध्यक्ष यमबहादुर गुरुङले गर्नुभएको थियो । रासस
प्रतिक्रिया