व्यापारीको चुनावमा हुण्डी देखि डलर कारोबारी सम्मको चर्चा

fnccinepalकाठमाडौं । व्यवसायीहरूको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको चैत २८ गते हुन लागेको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने भएको छ । दुई वर्षका लागि चयन हुने कार्यसमितिमा व्यवसायीले आ–आफ्नो उम्मेदवारी सहितको प्यानल घोषणा गरेका छन् । बरिष्ठ उपाध्यक्ष पदका लागि व्यापारी शेखर गोल्छा र किशोरकुमार प्रधानबीच कडा प्रतिस्पर्धा हुने बताइएको छ ।

मुलुकको आर्थिक नीतिदेखि औद्योगिक र व्यावसायिक वातावरण निर्माण तथा निजी क्षेत्रका उद्योगी व्यवसायीको हकहित संरक्षणसम्ममा महासंघको भूमिका रहने हुँदा यसको नेतृत्व चयनले देशव्यापी चर्चा पाउने गर्छ । चैत २९ गते हुने महासंघको ५१औं साधारण सभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । गोल्छा बर्तमान एसोसिएट उपाध्यक्ष हुन् भने, प्रधान जिल्ला–नगर उपाध्यक्ष हुन् ।

आइतबार गोल्छाले महासंघको बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरे भने प्रधानले फागनु २२ गते नै उक्त पदको लागि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । गोल्छाले बुटवलबाट र प्रधानले विराटनगरबाट उम्मेदवारी घोषणा गरेका थिए । महासंघको हालको विधान अनुसार बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने प्रावधान रहेको छ । केही महिना अघि महासंघले विशेष साधारण सभा गरेर उक्त प्रावधान राखेको हो ।

यो प्रावधानले हालकी बरिष्ठ उपाध्यक्ष भवानी राणालाई चिट्ठा परेजस्तै भएको छ । उनी चैत २८ गतेपछि स्वतः महासंघको अध्यक्ष बन्ने छिन् । गोल्छाको प्यानलमा जिल्ला–नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधान रहेका छन् । एसोसियटबाट चन्द्र ढकाल छन् भने वस्तुगत तर्फबाट उमेश प्रधानको उम्मेदेवारी घोषणा भएको छ । श्रेष्ठ महासंघको हालका वस्तुगततर्फका उपाध्यक्ष हुन् । गोल्छाको उम्मेदवारी घोषणा सभामा महासंघका हालका अध्यक्ष पशुपती मुरारका, हालकी बरिष्ठ उपाध्यक्ष भवानी राणा लगायको उपस्थिती थियो ।

माहौल आफ्नो पक्षमा पार्नका लागि गोल्छा समूहले लाखौ रुपैयाँ खर्च गरिसकेको छ । कालो सूचिमा परेका व्यापारी एव्म पूर्व अध्यक्ष चण्डीराज ढकालले पनि गोल्छालाई समर्थन गरेका छन् । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले हुण्डी कारोबार र अवैध डलरको कारोबारमा बैंक खाता मगाएर अनुसन्धान गरिरहेका चन्द्र ढकाल पैसा खर्चेरै भए पनि पद हत्याउने दाउमा छन् । यता, प्रधानको प्यानलबाट जिल्ला–नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा शंकर पाण्डेको उम्मेदवारी परेको छ भने एसोसिएट उपाध्यक्ष र कोषाध्यक्षको अझै घोषणा भएको छैन् । प्रधानको उम्मेदवारी घोषणा सभावमा महासंघका पूर्वअध्यक्षहरू सुरज वैद्य, विनोद श्रेष्ठ र कुशकुमार जोशीको उपस्थिती थियो । आर्थिक रुपमा कमजोर रहेका प्रधानको समूहलाई भाष्करराज राजकर्णिकारको समर्थन रहेको छ ।बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका गोल्छा, गोल्छा अर्गानाइजेसनका अध्यक्ष हुन । साथै हंसराज हुलासचन्द, हिम इलेक्ट्रिोनिक्स, हुलास इन्भेष्टमेन्टको प्रवन्ध निर्देशक तथा हेस्टर नेपाल, निओटेरिक नेपाल एण्ड इस्टर्न सुगर मिलका निर्देशक हुन् । उनी नेपाल अटोमोबाइल्स डिलर एसोसियसनको पूर्व अध्यक्ष पनि हुन् । उनी नेपाल भारत चेम्बर अफ कर्मस एण्ड इन्ड्रष्ट्रिजको कार्यसमितिका सदस्यमा पनि रहेका छन् ।प्रधान २१ वर्षदेखि महासंघमा संलग्न हुदै आएका व्यवसायी हुन् । उनी मोरङ वाणिज्य संगठनको पूर्व अध्यक्ष समेत हुन् । उनको हाल हिमालयन ह्युम पाइप, हिमालयन पोल इन्ड्रिष्ट्रिज, प्रधान ब्रिक उद्योग, लक्ष्मीराज इन्टरप्राइजेज, लक्ष्मीराज निर्माण सेवामा लगानी रहेको छ । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित