भक्तपुर वाईसिएल इन्चार्जमा थपलिया, रञ्जीतलाई संयोजकको जिम्मेवारी

Bhaktapur_YCL

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को  सहायक संगठन योङ्ग कम्युनिष्ट लिग, नेपाल (वाइसिएल, नेपाल)ले आफ्नो जिल्ला इन्चार्ज र संयोजकको जिम्मेवारी टुंगो लगाएको छ । वाइसिएलले देशैभरको जिल्ला नेतृत्व मंगलवार साँझ टुंगो लगाएको हो ।

भक्तपुरमा वाइसिएलका केन्द्रीय सदस्यसमेत रहेका युवा नेता दिनेश थपलिया ‘आक्रोश’लाई भक्तपुर इन्चार्जमा निरन्तरता दिइएको छ । उनी पार्टीको तत्कालिन जनयुद्धका जनयोद्धा समेत हुन् ।

त्यसैगरी भक्तपुर संयोजकको जिम्मेवारी युवा नेता नरेश रञ्जीतले पाएका छन् । वाइसिएल भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ का संयोजक रहेका रञ्जीतको जिल्ला संयोजकमा बढुवा भएको हो । यस अघि नरेश वाइवा जिल्ला संयोजक रहेका थिए । वाइवा केन्द्रीय सदस्य भए संगै रिक्त पदमा रंजीत पुगेका छन् । सफल युवा व्यवसायी रहेका रञ्जीत वाइसिएलका कुशल संगठक समेत हुन् ।

जिल्ला संयोजक नियुक्त भएसंगै रञ्जीतले अब संगठनको काम द्रुत गतिमा अघि बढ्ने बताए । यथाशिघ्र ४ वटै नगरपालिका र प्रत्येक वडामा पदाधिकारीसहित कार्यसमिति बनाएर जिम्मेवारी दिइने उनको भनाइ छ । वाइसिएललाई क्रान्तिकारी, शसक्त र जनताको प्यारो बनाएर नमूना संगठनको रुपमा भक्तपुर संगठनलाई अघि बढाउने उनले प्रतिवद्धता प्रकट गरेका छन् ।

त्यसैगरी इन्चार्ज थपलियाले भक्तपुर जिल्ला पार्टीको निर्देशनमा वाइसिएलले असामाजिक तत्व र भ्रष्टाचारीहरुको भण्डाफोर गर्ने बताए । पार्टीको सहायक संगठनको रुपमा जिम्मेवारी बहन गर्ने बताउदै उनले धन र डनको आडमा पार्टीलाई हेप्न खोज्नेहरुलाई परास्त गर्ने समेत प्रतिक्रिया दिए ।

 

प्रतिक्रिया

सम्बन्धित