असोजमा पनि नआउने भयो मेलम्ची, राजधानी धुलाम्य, ट्राफिक व्यवस्था अस्तव्यस्त

melamchiकाठमाडौं : खाने पानीको हाहाकार भोगिरहेका राजधानीबासीमा आगामी असोजमा मेलम्चीको पानी आउने आशा पलाएको थियो । मेलम्चीकै पानीका लागि राजधानीका सडक खनेर पाइप विच्छ्याइएको देख्दा र राजधानी धुलाम्य बन्दा पनि राजधानीबासी  खाने पानीको आशामा कुइरीमण्डल धुलो सहेरै बसिरहेका छन् । तर, यथार्थ अलि फरक भएको छ । आगामी दशैंसम्ममा पनि राजधानीवासीका धारामा  मेलम्चीको पानी आउने सम्भावना देखिंदैन । मेलम्ची खानेपानी आयोजनाको योजना अनुसार सुरुङ खन्ने काम नभएकाले असोजमै पानी आउने सम्भावना टरेको हो। आयोजनाका अनुसार पछिल्लो पटक सुरुङ खन्ने जिम्मा पाएको इटालियन कम्पनी को–अपेरटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सीएमसी) ले खन्ने उपकरण ‘ब्रेकडाउन’, सुरुङको मुख टाढा भएको, नयाँ जगेडा पार्टपुजा तथा स्पेयर्स पार्ट नभएको बहाना गर्दै काममा आलटाल गर्दा असोजमा राजधानीमा मेलम्चीको पानी ल्याउने योजना पूरा नहुने देखिएको हो। यसअघि आयोजनाले असोजभित्र मेलम्चीको पानी राजधानी ल्याउने जनाएको थियो। असोज महिनाभित्रै मेलम्चीको पानी ल्याउने यसअघिको कार्ययोजनाअनुसार उपत्यकाका सडकमा पाइप बिछ्याउने कार्य भने चलिरहेको छ। मेलम्ची आयोजनाका अनुसार अझै ४.४ किलोमिटर सुरुङ खन्न बाँकी छ। ठेकेदार कम्पनीले अहिले दैनिक सरदर १५ देखि १९ मिटर सुरुङ खन्दै आएको आयोजनाले जनायो।  कम्पनीले सरदर दैनिक २० मिटर सुरुङ खन्ने पनि बाँकी काम पूरा गर्न दुई सय २० दिन लाग्ने देखिन्छ। दैनिक २० मिटरका दरले खन्न सके अझै सात महिना त सुरुङ खन्न मात्रै लाग्छ। खनिसकेपछि सुरुङको प्लास्टर, गेट भेन्टिलेटर निर्माण, अप्टिकल फाइबर बिछ्याउने, सिसी क्यामेरा र ट्रिटमेन्ट प्लान्ट बनाउने लगायत काम गर्नुपर्ने हुन्छ। यो काम गर्न झन्डै तीन महिना लाग्ने विज्ञहरु बताउँछन् । यता मेलम्ची खानेपानी उपआयोजना प्रमुख तथा निर्देशक घनश्याम भट्टराईले भने असोज महिनाभित्रै मेलम्चीको पानी ल्याउन प्रयत्न भइरहेको बताए । melamchi-pयता, मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने क्रममा ठेकेदारले चरम लापरवाही गर्दा ट्राफिक ब्यवस्थापनमा असर परेको छ । मेलम्चीको पाइप बिछ्याएका ठकेदारले खाल्डो खनेर नपुर्दा एकारित ट्राफिक समस्या देखिंदै आएको छ भने अर्कोतिर उचित व्यवस्थापन नहुँदा राजधानी धुलाम्य भएको छ । जसका कारण सर्वसाधरणहरु सडकमा समेत हिड्न नसक्ने अवस्थामा पुगेका छन् । मेलम्चीको पाइप बिछ्याउने ठेकेदारले लापरवाही गर्दा यसअघि नेपाल विद्युत् प्राधिकरणको भूमिगत केबलमा पनि पटक–पटक क्षति पुगेको थियो । विभिन्न स्थानमा खाल्डो नपुरी छोड्दा सवारी दुर्घटना पनि बढेका छन् । राति काम गर्ने ठेकेदारले त्यसरी बनाइएका खाल्डो पुर्नुपर्ने समझदारी मेलम्चीको आयोजना कार्यान्वयन निर्देशनालयसँग भएको छ । अहिले राजधानीमा पाइप विच्छ्याउने काम रातको समयमा हुँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित