टी–२० विश्वकपः भारतको लगातार दोस्रो जीत, सेमिफाइनल प्रवेश न्यूजिल्यान्डको जीतमा भरपर्ने
काठमाडौं । युएइमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर १२ खेलमा भारतले शुक्रबार राति स्कटल्याण्डलाई ८ विकेटले पराजित गरेको छ ।
ग्रुप २ मा स्कटल्याण्ड शानदार जितपछि नेट रनरेटमा सुधार गरेको भारतले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ ।
सुरुआती दुई खेलमा पराजित भएको भारतले पछिल्ला दुई खेलमा अफगानिस्तान र स्कटल्याण्डलाई पराजित गरेको हो ।
चार खेलबाट चार अंक जोडेको भारत अफगानिस्तानलाई नेटरनरेटमा पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ । न्युजिल्याण्ड ६ अंकसहित दोस्रो स्थानमा छ । अब भारतले नामिबियासँग अन्तिम खेल खेल्न बाँकी छ । त्यसअघि न्युजिल्याण्डले अफगानिस्तानसँग खेल्नेछ ।
भारतको सेमिफाइनल सम्भावना बाँकी रहँदा अफगानिस्तानले न्युजिल्याण्डलाई हराउनुपर्नेछ । यदि न्युजिल्याण्डले जित हात पारेमा भने भारत अन्तिम खेल अघि नै बाहिरिनेछ ।
दुबईमा भएको खेलमा केएल राहुलले यस विश्वकपकै सर्वाधिक छिटो अर्धशतक बनाएपछि भारतले ८५ रनको सामान्य लक्ष्य ६.३ ओभर खेल्दै दुई विकेट गुमाएर पूरा गर्यो ।
राहुलले १९ बल खेल्दै ६ चौका र तीन छक्का मद्दतमा ५० रन बनाए । रोहित शर्माले १६ बल खेल्दै पाँच चौका र एक छक्का मद्दतमा ३० रन जोडे । सुर्यकुमार यादवले अविजित ६ रन बनाए । बर्थ डे ब्वाए कप्तान विराट कोहली दुई रनमा अविजित रहे । स्कटल्याण्डका मार्क वाट र ब्राड ह्विलले एक(एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले १७।४ ओभरमा सबै विकेट गुमाएर ८४ रनमा अलआउट भयो । स्कटल्याण्डका लागि जर्ज मुन्सेले सर्वाधिक २४ रन बनाउँदा माइकल लिस्कले २१ रन जोडे ।
स्कटल्याण्डलाई अलआउट गर्न भारतका रवीन्द्र जडेजा र मोहम्मद शामीले समान तीनरतीन विकेट लिए । जडेजाले चार ओभरमा १५ रन खर्चेर तीन विकेट लिए । शामीले तीन ओभरमा एक मेडन राख्दै १३ रन खर्चेर तीन विकेट लिए । यस्तै जसप्रित बुमराहले ३।४ ओभरमा एक मेडन राख्दै १० रन खर्चेर दुई विकेट लिए । रविचन्द्रन आश्विनले एक विकेट लिए ।
प्रतिक्रिया