म्याजिक चप्पलको कारखानामा आगलागी

Aaglagi_5_tOqhghjl7Wविराटनगर : मोरङको टंकिसिनुवारी–१ स्थित म्याजिक चप्पल कारखानामा आगलागी भएको छ। शुक्रबार बिहान ४ बजेतिर लागेको आगो पूर्ण रुपमा अझै नियन्त्रणमा आएको छैन। आगलागी ७५ प्रतिशत मात्रै नियन्त्रणमा आएको मोरङका प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीका अनुसार चप्पल कारखानामा केमिकल तथा प्लाष्टिकका धेरै सामान भएको कारण आगो नियन्त्रणमा कठिन भएको हो । आगो नियन्त्रणका लागि अहिले पनि १२ वटा दमकलले निरन्तर प्रयास गरिरहेको उनले बताए । आगलागी नियन्त्रणमा लिन विराटनगर, सुनसरीको इटहरी, इनरुवा र धरान तथा सप्तरीको राजविराजबाट समेत दमकल आएका छन् भने ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानीयसमेत खटेका छन्। विद्युत सर्ट भएर आगलागी भएको अनुमान स्थानीयको छ। आगलागीबाट कति क्षति भयो भन्ने विषयमा यकिन नभएपनि उद्योगको सम्पूर्ण तयारी माल, कच्चा पदार्थ तथा उद्योगका प्लान्टसमेत जलेर नष्ट भएको छ। जसका कारण करोडौं रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ। पछिल्लो समय नेपाली स्वदेशी उत्पादन म्याजिक चप्पल निकै लोकप्रिय बनेको छ। म्याजिक चप्पल उत्पादन गर्ने जयश्री पियूटेक उद्योग विराटनगरको बगडिया समूहले सञ्चालन गर्छ।

प्रतिक्रिया

सम्बन्धित