मतपत्रको टुंगो लाग्यो

nirbachanकाठमाडौं निर्वाचन आयोगले स्थानीय चुनावमा प्रयोग गरिने मतपत्रको टुंगो लगाएको छ । आयोग स्रोतका अनुसार मतपत्र सेतो कागजमा रातो प्रिन्ट हुने डिजाइन फाइनल भएको छ । आगामी शनिबारदेखि छपाई सुरु गर्ने योजना रहेको पनि बुझिएको छ । स्थानीय चुनावमा ६ प्रकारको मतपत्र हुनेछ । आयोगको निर्णय अनुसार मेयर र उपमेयर तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षका साथै वडा अध्यक्ष र सदस्यहरु छनोटका लागि एउटै मत पत्र हुनेछ । मतपत्रमा सात वटा ठाडो लाइन तानिएको हुनेछ । जसको तर्सो लाइनमा क्रमशः मेयर/अध्यक्ष, उपमेयर/उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र अन्य (दुई सदस्य) लेखिएको हुनेछ भने ठाडो लाइनमा दलहरुको चुनाव चिन्ह हुने निर्वाचन आयोग स्रोतले जनाएको छ । पछिल्लो संविधानसभा चुनावको समानुपातिकतर्फ पाएको मतका आधारमा क्रमसंख्या निर्धारण गरिएको छ । पहिलो नम्बरमा कांग्रेसको चुनाव चिन्ह रुख छ भने दोस्रोमा एमालेको सूर्य र तेस्रोमा माओवादीको हरिया गोलाकारभित्र हथौडा छ । यसरी ३० दलको चुनाव चिन्ह हुनेछ । स्वतन्त्र उम्मेदवारहरु पुछारमा हुनेछन् । स्वतन्त्र उम्मेदवारका लागि आयोगले अहिले निश्चित चुनाव चिन्ह छाप्नेछ, जुन फरक फरक ठाउँमा फरक फरक उम्मेदवारहरुलाई दिइनेछ । पहिला उम्मेदवारी दिनेलाई स्वतन्त्रतर्फको पहिलो चुनाव चिन्ह दिने निर्वाचन आयोगको निर्णय छ । निर्वाचन आयोगले मतपत्र छपाईको जिम्मा जनक शिक्षा समाग्री केन्द्रलाई दिइसकेको छ ।

केन्द्रले स्थानीय निर्वाचनका लागि चाहिने १ करोड ६० लाखप्रति मतपत्रको छपाइ शनिबारबाट सुरु गर्ने बताएको हो । मतपत्र छपाइका लागि चाहिने कागज, मसी, कर्मचारी र सुरक्षाको प्रबन्ध भइसकेको केन्द्रका निर्देशक कपिलदेव पोख्रेलले जानकारी दिए। निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार यसपटकको निर्वाचनमा १ करोड ६० लाख प्रति मतपत्र छाप्नुपर्ने हुन्छ। एक करोड ४० लाख जति मतदाता हुने र त्यसमा १५ प्रतिशत थप गरेर १ करोड ६० लाख प्रति छाप्नुपर्ने आयोगका प्रवक्ता शर्माले बताए। छपाइमा बिग्रिने तथा खेर जानेसमेत जोडेर १५ प्रतिशत धेरै छाप्ने गरिन्छ । त्यसैले यस पटक एक करोड ४० लाख मतदाता हुने भएकाले १ करोड ६० लाख जति मतपत्र छापिने भएको हो । एक करोड ६० लाखप्रति मतपत्र छाप्न करिब ५ सय मेट्रिक टन कागज चाहिने आयोगको अनुमान छ।

प्रतिक्रिया

सम्बन्धित