सप्तरी सम्हाल्न सक्लान त एसपी अनुरागले ?

policenकाठमाडौं : गृहमन्त्रालयले सप्तरीमा रहेका नेपाल प्रहरीका एसपी दिवेश लोहनी, डिएसपी दानबहादुर कार्की, सशस्त्रका एसपी र प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सिनालाई फिर्ता बोलाएर नेपाल प्रहरीका एसपी अनुराग द्विवेदी र सशस्त्र प्रहरीका एसपी रामआधार यादवलाई नयाँ सुरक्षा प्रमुखका रुपमा पठाएको छ । गोलीकाण्डपछि जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै त्यहाँ कार्यरत सुरक्षा अधिकारीलाई फिर्ता बोलाएर नयाँ सुरक्षा अधिकारीकारुपमा उनीहरुलाई त्यहाँ पठाइएको हो । एसपी द्विवेदी मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौँडामा कार्यरत थिए भने सशस्त्रका एसपी यादव बराह बाहिनी पकलीबाट पठाइएका हुन् । गृहमन्त्रालयले मंगलबार नेपाल प्रहरीका एसपी दिवेश लोहनी, डिएसपी दानबहादुर कार्की, सशस्त्रका एसपी र प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सिनालाई गृहमा तानेको थियो । मंगलबार बिहान गृहमन्त्री विमलेन्द्र निधिले सप्तरीको गोलीकाण्डबारे छलफल गर्न नेपाल प्रहरीका कामू महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिपकुमार रेग्मीसहितको उच्च सुरक्षा बैठक डाकेका थिए । बैठकमा गृहमन्त्रीले किन छाती र टाउकोमा गोली चलाएको भन्दै आक्रोश पोखेपछि सुरक्षा प्रमुखहरुले परिस्थिति अनुसार नै गोली चलाएको जवाफ दिएका थिए । नयाँ प्रजिअको लागि भने गृहले टुंगो गरिसकेको छैन । गृहले सबै सुरक्षाअधिकारीलाई तानेपछि सप्तरी सुरक्षा प्रमुखबिहीन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित