कपिलवस्तुबाट पेसेवर 'महाठग' पोख्रेल पक्राउ
कपिलवस्तु । जिल्ला प्रहरी कार्यालयकपिलवस्तुबाट खटिएको प्रहरी टोलीले एक जना ‘महाठग’ लाई पक्राउ गर्न सफल भएको छ । विभिन्न बहाना बनाई ठगी गरेको आरोपमा प्युठानको तोरवाङ गाउँपालिका–६ घर भई हाल झिमरुक गाउँपालिका बस्ने ईश्वरीप्रसाद पोख्रेललाई प्रहरीले सोमबार राति पक्राउ गरेको हो ।
कहिले माओवादी नेता तथा अर्थमन्त्री जनार्दन शर्मा भन्दै त कहिले मेडिकल तथा साइन्स कलेज खोल्ने बहानामा करोडौँ उठाएर फरार रहेका पेसेवर ठगलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बागमती प्रदेश ०१–०२६ च ४००१ नम्बरको कार चेक जाँचका क्रममा पोख्रेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।
पक्राउ परेका पोख्रेल पेसेवार ठग भएको प्रहरीको दाबी छ । अभियुक्त पोख्रेलले २०६९ सालमा माओवादी नेता जनार्दन शर्मा (प्रभाकर) बनेर साइन रेसुङ्गा बैङ्क केन्द्रीय कार्यालयका लेखा प्रमुख भुवन पन्थलाई समेत ठगेका थिए । प्रहरीका अनुसार उनले पन्थबाट ७ लाख रुपैयाँ ठगी गरेका थिए ।
त्यस्तै, २०६४/६५ सालमा दाङ राप्ती गाउँपालिका–२ मा साइन्स कलेज स्थापना गर्ने र जागिर लगाइदिने नाममा १ करोडभन्दा बढी रकम उठाएर उनी फरार भएका थिए । यसैगरी कैलालीको धनगढीमा समेत मेडिकल कलेज खोल्ने नाममा स्थानीय व्यवसायी र सर्वसाधारणसँग लाखौँ रकम उठाएर फरार भएको जनाइएको छ ।
यस्तो छ उनको ठगीका श्रृङ्खला
२०६४/६५ सालमा दाङ साविक लालमटिया गा.वि.स.हाल राप्ती गाउपालिका वडा नं.–२ मा साइन्स कलेज स्थापना गर्ने र सोमा जागिर लगाइदिने भनि विभिन्न व्यक्तिहरूबाट एक करोडभन्दा बढी रुपैयाँ ठगी फरार भएको ।
२०६५ सालमा कैलालीको धनगढीस्थित मेडिकल कलेज खोल्ने र सोका लागि लगानी चाहिने भनि विभिन्न व्यवसायी तथा सर्वसाधारणहरूबाट लाखौँ रकम ठगी गरी फरार भएको ।
वीरगञ्जमा देवेन्द्रकुमार कर्णले सञ्चालन गरेको Jagadamba sales trading Pvt. Ltd मा गई आफू Gaumukhi Feed Industries & Trade link Pvt.Ltd को सञ्चालक भएको भनि च्यानल गेट, एङगल तथा रडहरू ४७ लाखको खरिद गरी सो वापत Gaumukhi Feed Industries & Trade link Pvt.Ltd नामको माछापुच्छ्रे बैङ्कको रकम नभएको चेक मिति २०७८।०३।१३ गते दिई फरार भएको ।
गोयल कम्पनीको विक्रेता भैरहवाको सिद्धार्थ हार्डवेयरबाट मिति २०७८।१०।०५ गते २३ लाखको हार्डवेयर सामग्री फ्याक्ट्री बनाउन लागेको भन्दै सामान लिई सो वापत Gaumukhi Feed Industries & Trade link Pvt.Ltd नामको कृषि विकास बैङक लिमिटेड प्युठानको खाता नं. ०९१९६०१९९५३१७०११ को रकम नभएको चेक दिई फरार भएको ।
नेपाली सेनाको ठेकेदार हुँ भनि चितवनको टाँडीमा सञ्चालित Rijal Food & Beverages Pvt.Ltd बाट मिति २०७८।०७।३० गते Gaumukhi Feed Industries & Trade link Pvt.Ltd को नाममा सामानहरू खरिद गरी सो वापतको भुक्तानीका लागि माछापुच्छ्रे बैङकको रकम नभएको चेक दिई फरार भएको सो वापत कम्पनीले २८ लाखको क्षति ब्यहोरेको ।
नवलपरासीमा रहेको समृद्धि स्टिल कम्पनीमा २५ लाख बराबरको सामान दिई रकम नभएको चेक दिई फरार भएको ।
प्युठान सिमेन्ट कारखानाबाट २० लाखको सामान लिई रकम नभएको चेक दिई फरार रहेको ।
गोल्छा अर्गनाईजेसनबाट ३० लाख बराबरको चामल चिउरा तथा फलामका सामाग्रीहरू लिई रकम नभएको चेक दिई फरार भएको ।
काठमाडौँको टेकुमा शिवप्रसाद थापाले सञ्चालन गरेको मेशिनरी सप्लायर्सबाट विभिन्न मेसिनरी सामानहरू लिई माछापुच्छ्रे बैङकको १ लाख २७ बराबरको रकम नभएकोको चेक दिई फरार रहेको ।
यसअघि पनि उनीमाथि ठगीका मुद्दाहरू दर्ता भएका थिए । पोख्रेलमाथि थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया