विकास योजनाका बजेट फ्रिज हुन नदिन वाईसिएल नेपाल भक्तपुरको सिडिओलाई ज्ञापनपत्र
भक्तपुर । वाईसिएल नेपाल भक्तपुरले हनुमन्ते कोरिडोरलगायत भक्तपुरका विभिन्न विकास योजनाका बजेट फ्रिज हुनबाट बचाउन सरकारलाई ध्यानाकर्षण गराएको छ ।
आर्थिक वर्षको ५ महिनाभन्दा कम समयावधि रहेको अहिलेको अवस्थामा विभिन्न विकास निर्माणका लागि परेको बजेट पूर्ण रुपमा खर्च हुन नसकेकेको अहिलेको परिवेशलाई मध्यनजर गर्दै वाईसिएल नेपाल जिल्ला समन्वय समिति भक्तपुरले प्रमुख जिल्ला अधिकारी रूद्रदेवी शर्मामार्फत् बजेट फ्रिज हुनबाट रोक्नका लागि सरकार समक्ष अनुरोध गरेको हो ।
विभिन्न कारणहरुले गर्दा समयमै विकास निर्माणका काम हुन नसकिरहेको अहिलेको परिवेशमा आफ्ना विकासका योजनाहरुमा आएको बजेट फ्रिज नगराई योजनाहरु सम्पन्न गर्नुपर्ने बताउँदै वाईसिएल नेपाल भक्तपुरका संयोजक नरेश रञ्जीतले सार्वजनिक हितको विषयलाई आफूहरुले उठाएको बताए । रञ्जीतले विकासका लागि आएको बजेटमा भ्रष्टाचार र अनियमितता गरेको पाइएमा वाईसिएल नेपाल भक्तपुर चुप लागेर नबस्ने बताउँदै दुर्भावना रहेका त्यस्ता व्यक्तिलाई सचेत रहन समेत चेतावनी दिए ।
उनले अगाडि भने, ‘जनताको रगत र पसिनाले तिरेको करबाट विकासको लागि आएको बजेट कसैले भ्रष्टाचार गर्छ र विभिन्न बहानामा बजेट फर्काउन र फ्रिज गर्न खोज्छन् भने, वाईसिएल चुप लागेर बस्दैन ।’
वाईसिएल नेपाल जिल्ला समिति इन्चार्ज दिनेश थपलिया र वाईसिएल नेपाल जिल्ला समिति संयोजक नरेश रञ्जीतको संयुक्त नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी शर्मालाई हनुमन्ते कोरिडोरको काम लथालिंग पारिएको र सो निर्माणमा स्थानीय सरकार उदासिन देखिएको तत्काल ताकेता गर्न समेत अनुरोध गरे ।
लथालिंग करिडोरका कारण भक्तपुरका राधेराधे, बालकोटलगायतका करिडोर वरपरका क्षेत्र प्रत्येक वर्ष डुबानमा पर्ने गरेको जानकारी दिँदै प्रतिनिधि मण्डलले यथाशीघ्र प्रशासनमा ताकेता गरी वर्षा अगाडि नै काम सम्पन्न गर्नुपर्ने माग समेत राखे । उक्त अवसरमा सिडियो शर्माले त्यसका लागि पहल गर्ने बताएकी थिइन् ।
ज्ञापनपत्रः
प्रतिक्रिया