तिवारी हत्याका मुख्य योजनाकारसहित सात सार्वजनिक

durgatiwariलुम्बिनी । युवा सङ्घ रूपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज सार्वजनिक गरेको छ । जिप्रका रुपन्देहीले तिवारी हत्या काण्डमा संलग्न र जिल्लामा भएका डकैती, चोरी तथा सङ्गठित अपराधमा संलग्नलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

  प्रहरीले अध्यक्ष तिवारीको हत्याका मुख्य योजनाकार मनोज पुन नै भएको उल्लेख गरेको छ । साथै हत्यामा संलग्न १२ जनाको सूची सार्वजनिक गरेको छ ।

  तीमध्ये मुख्य योजनाकार पुनसहित पाँच जना फरार छन् भने सात जना पक्राउ परेका छन् ।  रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र धानुकले व्यक्तिगत रिसईबी र आपराधिक मनोवृत्ति बढाई लुटपाट मच्चाउनकै लागि तिवारीको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुल्न आएको बताउनुभयो ।  तिवारी हत्याकाण्डमा योजनाकार रहेका सिद्धार्थनगर– ३ का विकास भनिने सोमबहादुर आले पनि फरार छन् ।

  घटनामा सुटरका रुपमा राजु भनिने प्रयोग भएको र उनी पनि फरार रहेको प्रहरी उपरीक्षक धानुकले जानकारी दिनुभयो ।  सार्वजनिक गरिएका अभियुक्तमा देवदह नगरपालिका – ६ का ३१ वर्षीय वसन्तबहादुर चापागार्इँ, तिलोत्तमा नगरपालिका– १५ का २७ वर्षीय बुद्धिसागर यादव   र  २४ वर्षीय राजेश यादव, तिलोत्तमा– ८ का प्रयास भनिने ३३ वर्षीय खेमानन्द भट्टराई, देवदह नगरपालिका– ८ का २३ वर्षीय सागर थापा, रुपन्देही धकधई– ८ परासी झुङ्गाका २८ वर्षीय अङ्गद थारु र  देवदह नगरपालिका– ९ का २८ वर्षीय ऋषिश्वर कुमाल छन् ।

    प्रहरीका अनुसार चापागार्इँले मनोज पुन भनिने मनोज बुढा मगरको निर्देशनबमोजिम घटनाको दिन दिनभरि तिवारीको गतिविधिको निगरानी गरी जानकारी गराउने भूमिका खेलेका थिए ।

  प्रहरीले सो घटनामा स्थानीय तथा बाहिरी मानिसको संलग्नता पनि हुन सक्ने सम्भावना रहेको बताउँदै त्यसतर्फ गम्भीरतापूर्वक निगरानी भइरहेको बताएको छ । तिवारीको गत पुस ४ गते हत्या भएको थियो  । हत्यामा संलग्न मुख्य योजनाकारसहित फरार अभियुक्तलाई छिट्टै सार्वजनिक गरिने प्रहरी उपरीक्षक धानुकले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित