गौचन हत्या : भारतबाट पक्राउ परेका समिरमान कसरी चितवनबाट समातिए ?

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गर्ने गिरोहका मुख्य योजनाकार समीरमान बस्नेत पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बस्नेतलाई भारतबाट पक्राउ गरेको भए पनि प्रहरीले चितवनबाट पक्राउ गरेको जनाएको छ  ।

 पछिल्लो साढे २ वर्षदेखि भारतका विभिन्न सहरमा बस्दै अन्डरवल्र्डको शैलीमा फिरौती संकलनमा संलग्न बस्नेतकै योजनामा असोज २३ मा गौचनलाई राजधानीको शान्तिनगरमा गोली हानिएको थियो । नेपाल प्रहरीले समीरमानलाई पक्राउ गर्न दुई फरक–फरक टोली भारत पठाएको थियो ।

 डीएसपी नेतृत्वको एउटा टोली समीरमान र उनको समूहको गतिविधि गोवामा रहेको भन्दै त्यतै केन्द्रित भएको थियो । तर हप्तौं बसाइपछि पनि केही सुराकी पाउन नसकेपछि उक्त समूह फर्किएको थियो । स्रोतका अनुसार चितवनबाट पक्राउ गरेको भनिए पनि सई नेतृत्वको अर्को टोलीले समीरमानलाई भारतबाट पक्राउ गरेर ल्याएको हो ।

 समीरमानलाई पक्राउ गर्न भारतीय प्रहरीले पनि अनौपचारिक रूपमा सहयोग गरेको स्रोतले जनाएको छ । प्रहरीले समीरको गतिविधि गोवा, दिल्ली र उत्तराञ्चलमा रहेको सुइँको पाएको थियो । त्यसैका आधारमा उनलाई पक्राउ गर्ने अन्तिम योजना बनाएको थियो । प्रहरीले समीरका अलावा उनका मुख्य सहयोगी लोप्साङ र मनोज पुनलाई पनि पक्राउ गर्न खोजेको थियो । तर तिब्बतीसँग निकट सम्बन्ध बनाएका लोप्साङ उत्तराञ्चलतिरै बेपत्ता भए भने पुन भुटान–भारत सीमावर्ती क्षेत्रमा हराए ।

 लोप्साङ र मनोजलाई पक्रिने प्रयास असफल भए पनि प्रहरीले समीरलाई पक्राउलगत्तै आइतबार विमानमार्फत काठमाडौं ल्याएको थियो । बाफलका ३४ वर्षीय समीर–मान स–साना ठेक्कापट्टा र कुखुरापालनमा संलग्न थिए । राजनीतिक नेतासँगको बसउठ र गुन्डा नाइके कुमार घैंटेसँगको संगतले उनलाई अपराध दुनियाँमा शक्तिशाली बनाइदियो । दावा लामा, गणेश लामा लगायतको समूह फिरौती लगायत धन्दामा सक्रिय भइरहँदा घैंटेले समीरमानलाई साथ लिएर आफ्नो प्रभाव विस्तार गरिरहेका थिए ।

 प्रहरीका अनुसार ८ वर्षअघि उनले दिनेश अधिकारी ‘चरी’ र राधे भण्डारीसँग मिलेर ठेक्कापट्टामा हात हालेका थिए । तर भागबन्डा नमिलेपछि चरी यो समूहबाट बाहिरिए भने समीर घंैटेसँग नजिकिए । कुनै बेला उनको लेनदेन गुन्डा नाइके रमेश बाहुनसँग पनि थियो । लेनदेनको विवाद चर्किएपछि उनीहरू एकले अर्कालाई सिध्याउने तहमा पुगे । कान्तिपुरमा खबर छ

प्रतिक्रिया

सम्बन्धित