प्याब्सन महाधिवेशनमा राजनीतिक ध्रुवीकरण

pabsanकाठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)को आजदेखि सुरु भएको १३औँ राष्ट्रिय महाधिवेशनमा हुने नयाँ नेतृत्व चयनमा राजनीतिक दलबाट पनि उत्तिकै चासो देखाइएको छ । पेसागत र व्यावसायिक हरेक क्षेत्रमा दलीय प्रभाव सिद्धान्ततः गलत ठान्नेहरु यसका अगुवाहरु आफँै दलगत आधारमा विभाजित भएपछि विद्यालय सञ्चालक र महाधिवेशन प्रतिनिधिसम्ममा त्यसको प्रभाव पुगेको हो ।

 छ हजार दुई सय शिक्षण संस्था सदस्यसहित ७२ जिल्लामा शाखा भएको निजी शिक्षा क्षेत्रको अगुवा संस्थाको महाधिवेशनमा करिब दुई हजार प्रतिनिधि छन् ।

 नेपाल प्रज्ञा–प्रतिष्ठानमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभएको महाधिवेशनमा नीति र नेतृत्वबारे बहस भइरहँदा कुन उम्मेदवारलाई कुन दलको समर्थन वा आधिकारिक टिकट मिल्यो भन्ने चर्चा पनि चलेको छ ।

 सरकारी नीति नियमलाई पूर्ण कार्यान्वयन नगर्ने तथा शिक्षामा व्यापारीकरण गरेको आरोप खेप्ने निजी (संस्थागत) विद्यालय सञ्चालकहरुको संस्था प्याब्सनको भावी अध्यक्षका लागि टीकाराम पुरी र विजय सम्बाहाम्फे भिड्दै हुनुहुन्छ ।पुरीलाई नेकपा (एमाले)को समर्थन देखिएको छ भने सम्बाहाम्फे नेकपा (माओवादी केन्द्र) निकट मानिनुुहुन्छ । दुवै समूहले अन्य दलका प्रतिनिधिलाई अन्य पदमा समेटेर प्रचार गरिरहेका छन् ।

 वरिष्ठ उपाध्यक्षमा क्रमशः डिके ढुङ्गाना र सुमनगोपाल आचार्य तथा महासचिवमा गोपाल आचार्य र राजेन्द्र बानियाँ प्रतिस्पर्धामा छन् । दुवै समूहले आफूलाई व्यावसायिक र सक्षम दाबी गरिरहेका छन् । पार्टीका कार्यालयमा समर्थन वा टिकटका लागि धाउने र नपाएमा व्यावसायिक वा स्वतन्त्र उम्मेदवारीका घोषणा गर्ने उम्मेदवार पनि भएकाले त्यस्ता उम्मेदवारका कारण दुवै समूहबीच कडा टक्कर हुने स्थिति देखापरेको छ ।

प्रतिक्रिया

सम्बन्धित