कस्मेटिक व्यवसायी संघमा तिमल्सिनाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति

cosmetic

काठमाडौं  । नेपाल कस्मेटिक व्यवसायी संघको अध्यक्षमा ऋषिकेश तिमल्सिना चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न संघको चौथो साधारणसभाले तिमल्सिनाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा सीता पराजुली, प्रथम उपाध्यक्षमा केशव ज्ञवाली, उपाध्यक्षमा मच्छिन्द्र खकुरेल, सहकोषाध्यक्षमा सुभाष गोयल, कोषध्यक्षमा टेकबहादुर काफ्ले, सहसचिवमा नन्दकिशोर रिजाल र सचिवमा चित्रबहादुर बस्नेत चयन भएका छन् । 

यस्तै, सदस्यहरूमा कमलकुमार दुगड, नारायण न्यौपाने, सन्तोषकुमार साह, तीर्था भण्डारी, सरिता बोहरा, मुकेश अग्रवाल र दिपेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् । संघका नवनिर्वाचित अध्यक्ष तिमल्सिनाले सौन्दय व्यवसायलाई मर्यादित र सम्मानजनक व्यवसायका रूपमा अघि बढाउन आफूले प्रयास गर्ने बताए । 

संघको साधारणसभा उद्घाटन गर्दै प्रमुख कर प्रशासक शम्भुप्रसाद मरासिनीले कस्मेटिक व्यवसाय मेकअप मात्रै नभई मानव स्वास्थ्यसँग पनि सम्बन्धित रहेको उल्लेख गरे । उनले कस्मेटिक वस्तु बढी आयातमुखी भएको भन्दै स्वदेशी वस्तु उत्पादन गर्नुपर्नेमा जोड दिए । ‘स्वदेशमै कस्मेटिक वस्तु उत्पादन गरी निर्यात गर्नसके विदेशी मुद्रा आर्जन गर्न सकिन्छ,’ मरासिनीले भने, ‘नेपालमा सौन्दर्य प्रशाधनको व्यवसाय नयाँ ढंगले अघि बढ्नुपर्ने अवस्था छ ।’

संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद पौडेलले सरकारले कस्मेटिक वस्तुलाई दैनिक उपभोग्य वस्तुका रूपमा मान्यता दिनुपर्ने माग गरे । उनले राज्यले अझै पनि कस्मेटिक व्यवसायलाई महत्व नदिएको भन्दै आत्मनिर्भर अर्थतन्त्रका लागि देशभरका कस्मेटिक व्यवसायीले महत्वपूर्ण योगदान गरेको उनको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका बागमती प्रदेश उपाध्यक्ष दुर्गाराज श्रेष्ठले सम्पूर्ण वस्तुलाई आयात प्रतिस्थापन गर्न खोजेर सरकारको फरक ढंगको रवैया प्रस्तुत गरेको आरोप लगाए । उनले सरकारको यो निर्णयले सौन्दर्य व्यवसायमा आबद्ध व्यवसायी मारमा पर्ने उल्लेख गरे । 

ललितपुर चेम्बर्स अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले कस्मेटिक विलासिताको वस्तु मात्र नभएर दैनिक उपभोग्यको वस्तु भइसकेको बताए । ‘कस्मेटिक विलासिता मात्र होइन, दैनिक उपभोग्य वस्तु भइसक्यो । महिलाले मात्र होइन, पुरुषले पनि जहाँसुकै जुनबेला पनि सौन्दर्यका साधन प्रयोग गर्न थालेका छन्,’ उनले भने । पछिल्लो समय कस्मेटिक व्यवसायी केन्द्र, प्रदेश र स्थानीय तीन तहका सरकार मात्र होइन, प्रहरीका साथै अन्य समूहबाट पनि पीडित भएको उनको भनाइ थियो । 

जडीबुटी अन्वेषक धर्मराज पौडेलले सौन्दर्य प्रशाधनमा प्रयोग हुने लाखौं जडीबुटी खेर गएको उल्लेख गर्दै स्वदेशी जडीबुटीलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे । पौडेलले बाहिरी सौन्दर्य मात्र होइन, आन्तरिक सौन्दर्यमा जोड दिनुपर्ने बताउँदै विदेशबाट कस्मेटिक वस्तु आयात गर्न नहुने धारणा राखे ।

नेपाल कस्मेटिक व्यवसायी संघ २०६९ मा स्थापना भएको हो । देशका ७७ वटै जिल्लामा साना साना लगानीमा कस्मेटिक व्यवसाय खोलेर संघको स्थापना भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित