वर्षैभरि सहयोग गर्ने लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरीको उद्घोष

chandragiri_1

काठमाडाैं । लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरीले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा उपकारी कार्य गरेको छ ।

दीन-दुःखीलाई समय-समयमा आर्थिकलगायत विभिन्न सहयोग उपलब्ध गराउँदै आएको क्लबले दुवै मृगौला खराब भइ थलिएर राजधानीमा उपचार गराउँदै आएकी सिन्धुपाल्चोककी रीता आचार्यलाई उपचारमा सहयोग पुऱ्याउन रु. २५ हजार र जनजाति कल्याण आश्रम मुलपानीलाई रु. १८ हजार गरी ४३ हजार नगद आर्थिक सहयोग गरेको हो ।

 चरम आर्थिक दूरावस्था झेलेर किड्नी ट्रान्सप्लाण्ट गर्न समस्या परेको र बिहान-बेलुकी हातमुख जोर्न नै समस्या भोगिरहेकी पीडित रीता आचार्य तथा आश्रममा आश्रित बालबालिकाहरूको लागि नयाँ वर्ष २०७९ को आरम्भमा केही सहयोग गर्दै सो क्लबले वर्षभरि नै सहयोग उपलब्ध गराइरहने उद्घोष समेत गरेको छ ।

सक्रिय रुपमा सामाजिक कार्यमा अगाडि बढेको लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरीकी अध्यक्ष दुर्गा बिसुराल, क्लस्टर चिफ टंकनाथ पौडेल, रिजन चेयरपर्सन राजेश बिसुराल, जिएलटी कोअर्डिनेटर भुपराज काफ्ले, सचिव जनकराज पाठक, सदस्यद्वय लायन नवीन उप्रेती र लायन पुर्णिमा उप्रेतीको उपस्थितिमा मृगौलापीडित आचार्य र आश्रमलाई नगद हस्तान्तरण गरिएको थियो ।

उक्त क्लबकी अध्यक्ष दुर्गा बिसुरालले सामाजिक कार्यमा कहिल्यै नथाक्ने प्रतिबद्धताका साथ वर्षभरि नै लायन्स क्लबद्वारा दुःखी-पीडितको पीडामा मल्हम लगाउने र सेवारुपी हातहरू नरोकिने जानकारी गराउँदा आश्रममा आश्रितजनहरूको मुहारमा खुशी छचल्किएको थियो ।

प्रतिक्रिया

सम्बन्धित