आलोपालो मनोनयन दर्ता गराउने सहमति

Lamjung

लमजुङ। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि लमजुङका राजनीतिक दलहरूबीच मनोनयन पत्र दर्ता कार्य आलोपालो गर्ने सहमति भएको छ । शनिबार जिल्ला समन्वय समिति लमजुङको सभाहलमा राजनीतिक दलहरूबीच छलफल गरी मनोनयन पत्र दर्ता गर्दा सबै राजनीतिक दलले एकै समयमा नगरी समय व्यवस्थापन गरी मनोनयन पत्र दाखिला गर्ने सहमति भएको हो ।

मुख्य निर्वाचन अधिकृत, जिल्ला न्यायाधीश शिवप्रसाद खनालका अनुसार एकै समयमा दर्ताको काम गर्दा समस्या हुन सक्ने भएकाले आलोपालो गर्ने सहमति गरिएको हो । लमजुङमा १७ वटा राजनीतिक दल स्थानीय निर्वाचनको लागी दर्ता भएका छन् । एउटा पालिकामा प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य गरी एउटा पार्टीबाट ५७ जना उम्मेदवारले नाम दर्ता गराउनुपर्नेछ ।

कार्यक्रममा नेकपा एमाले लमजुङका उपाध्यक्ष यशोदा रिमाल, नेपाली कांग्रेसका उपसभापति आनन्द घिमिरे, माओवादी केन्द्र जिल्ला कमिटी सदस्य देवबहादुर गहतराज, जनसमाजवादी पार्टी नेपालका सूर्यबहादुर बुढापृथी, जनता समाजवादी पार्टीका उपाध्यक्ष नरेन्द्रबहादुर गुरुङ, नेकपा एकीकृत समाजवादीका हरिनिधी तिवारी, राप्रपाका उपसचिव बालचन्द्र श्रेष्ठ, मंगोल नेशनल जिल्ला सभाका अध्यक्ष विकास गुरुङ उपस्थिति रहेको थियो ।

लमजुङमा चार नगरपालिका र चार गाउँपालिका छन् । वैशाख ११ गते आइतबार १२ गते सोमबार मनोनयन दर्ताको समय रहेको र एकै समयमा सबै राजनीतिक दलहरू आउँदा भिडभाड हुने भएकाले आलोपालो गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

लमजुङमा जिल्ला समन्वय समितिमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य ७ पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर काम थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित