क्लब संचालकको टाउको फुटाउने काभ्रेली गुण्डा दाबा लामा पक्राउ

dawaalamaकाठमाडौं । क्लबमा झगडा गरी संचालकमाथि कुटपिट गरेको आरोपमा काभ्रेली समूहका कुख्यात गुण्डा नाइके दावा लामा पक्राउ परेका छन् । व्यवसायी राम गिरीद्वारा दरवारमार्गमा संचालित क्लब डेजा भियुमा आधा दर्जन गुण्डाहरु बोकेर शुक्रबार राती लामाले आक्रमण गर्दा गिरीको टाउकोमा गम्भिर चोट लागेको छ ।

 दरवारमार्गमा आफ्नो रवाफ देखाउन लामाको समुहले  गिरीमाथि आक्रमण गरेको प्रहरीको अनुमान छ ।  टाउकोमा चोट लागेका गिरीको अस्पतालमा उपचार भैरहेको र आक्रमणकारी गुण्डा नाइके लामालाई पक्राउ गरी अनुसन्धान भैरहेको महानगरिय प्रहरी वृत्त दरवारमार्गका प्रहरी प्रमुख डिएसपी कृष्ण कृष्णबहादुर पल्लीमगरले बताए ।

   लामालाई छुटाउन गुण्डाको पृष्‍ठभुमी भएका सांसद तिर्थ लामादेखी नेविसंघका नेताहरुले गृहमन्त्रीको नाममा  डिएसपीलाई दबाब दिन थालेको प्रहरी स्रोतले बतायो । लामो समयदेखि गुण्डागर्दीमा संलग्न लामा   लागूऔषध, ज्यान मार्ने उद्योग र अपहरण मुद्दामा रहस्यमय तरिकाले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएर केही समय भारतमा लुकी नेपाल फर्किएका थिए ।

 गुण्डा नाइके कुमार घैंटेको प्रहरी इन्काउन्टरमा ज्यान गएसँगै काठमाडौंमा गुण्डाहरुको भागाभाग भएको थियो । अपराध महाशाखाका तत्कालिन प्रमुख एसएसपी सर्वेन्द्र खनालको कारवाहीमा पर्ने डरले 'हिट लिस्ट'मा रहेका लामा फरार हुँदै आएका थिए ।  अहिले खनालको सरुवासँगै काठमाडौंमा काभ्रेली गुण्डाहरुको दबदबा बढ्न थालिसकेको छ ।  गणेश लामा गुपचुप जस्तै बनेपछि  उनको ठाउँ लिन लामा लागिपरेको वताइन्छ । लामा प्रदीप बोगटी नामका व्यापारिलाई  कुटपिट गरी उनको साथमा रहेको १९ लाख रुपैयाँ लुटेर फरार भएका थिए । लामाको समूहले काभ्रेमा बुद्धचित्त माला लुटपाटसमेत गरेको थियो ।

   काजी शेर्पाको समूह हुँदै काभ्रेली समूहमा रहेर गुण्डागर्दी गर्दै आएका लामालाई ठूलो राजनीतिक संरक्षण रहेको छ ।   दावाले ठेक्का कब्जा गर्न, व्यापारीबाट रकम असुली गर्न र अन्य गुण्डाका समूह तह लगाउन करिब २५ जना युवाको समूहलाई परिचालन गरेको सूचना आएको महानगरिय प्रहरी अपराध महाशाखाका एक प्रहरी अधिकारीले बताए ।

 लामाले दार्चुलाका बीरेन्द्रबहादुर कुँवर, प्रविण नाम गरेका व्यक्ति तथा जेल सजाय काटि बाहिर निस्केका केही आपराधिक व्यक्तिहरुलाई हातमा लिएर पुनः अपराधको यात्रा शुरु गर्न लागेका छन् । हालैमात्र उनले भक्तपुरमा आफ्ना सहयोगी मार्फत टेण्डर हात पारी बाटो निर्माणको काम शुरु गरेका छन् । जुन पूर्व उद्योगमन्त्री महेश बस्नेतको क्षेत्र हो ।  लामा काभ्रेबाट निर्वाचित कांग्रेसका सांसद तीर्थ लामाको व्यापारिक कारोबारमा समेत संलग्न रहेको बताइएको छ ।

लामाको समूहले ललितपुरको सुनाकोठी–८ निवासी ३४ वर्षीय राजन श्रेष्ठलाई दुई वर्षअघि खुकुरी प्रहार गरेको थियो  । त्यस्तै, महाराजगञ्जबाट बूढानीलकण्ठ गइरहेको अवस्थामा व्यापारी सुनील अग्रवालबाट पनि लामाको समूहलले ११ लाख ५० हजार रुपैयाँ लुटेको थियो । लामाको समूहले ग्रवालबाट पटक–पटक गरेर करिब ४१ लाख रुपैयाँ असुलेको प्रहरी अनुसन्धानले देखाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित