पोखराको नयाँ ल्यान्डफिल साइट भरतपोखरी !

Pokhara_1

पोखरा । पोखरा महानगरपालिकाकाे पहिलो कार्यपालिका बैठक बसेको छ । बैठकले हाल सन्चालनमा रहेको ल्यान्डफिल साइट पोखरा-३३ भरतपोखरीमा सार्ने निर्णय गरेको छ।

अहिले पोखरा-१४ मा रहेको ल्यान्डफिल निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका कारण तत्कालै सार्नुपर्ने सर्त छ । त्यसकै आधारमा कार्यपालिका बैठकले पहिलो निर्णय गरेर भरतपोखरीमा सार्ने र आवश्यक पूर्वाधार बनाउन बजेट विनियोजन गर्ने जनाएको हो ।

बैठकले पोखरामा एक वर्षभित्रमा विभिन्न ठाउँमा सार्वजनिक शौचालय बनाउने रत्यसअघि बैंक, होटल, रेस्टुरेन्ट र विभिन्न संघ संस्थाका शौचालयमा सर्वसाधारणले प्रयोग गर्ने गरी समन्वय मिलाउने निर्णय गरेको छ । त्यसकालागि दुई पक्षबीच सम्झौता गरिने मेयर धनराज आचार्यले जानकारी दिए ।

पोखरा महानगरपालिकाले तत्काल आपतकालीन सेवा सञ्चालनमा ल्याउने भएको छ । सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, आगलागी तथा विभिन्न घटनामा तत्काल जनशक्ति परिचालन गर्ने गरी पूर्वाधार महाशाखाको क्षमता विकास गर्ने र कर्मचारीसमेत भर्ना गरेर सेवामा प्रभावकारिता ल्याउने निर्णय गरिएको हो ।छाडा चौपाया सडकबाट हटाउने र ढल तथा नाला सफाइ अभियान सुरु भइ सकेको छ ।

तालचोक-बेगनास सडकको निर्माणको ठेक्का बोलपत्र स्वीकृत गरेको छ । करिब तीन किलोमिटर दूरीको सडकलाई चार लेनमा विस्तार गर्ने गरी विश्व बैंकलेआर्थिक सहयोग गर्ने यसअघि नै सम्झौता गरिएको छ ।

पोखरा महानगरको प्रशासकीय भवन निर्माणका लागि पनि जग्गा छनोट गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । वडाध्यक्षहरु दिवशमान प्रधानांग, राधिका शाही र पूर्वाधार महाशाखा प्रमुख पूर्णबहादुर गुरुङ सदस्य रहेको टोली गठन गरिएको र आउँदो बैठकमा प्रतिवेदन पेस गर्नुपर्ने कार्यादेश दिइएको मेयर आचार्यले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित