आदीलको 'जादू'सँगै नेपाल र अमेरिकाबीचको खेल 'टाइ'

Aadil

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु को त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल 'टाइ' भएको छ ।

अमेरिकाको टेक्ससमा आइतबार बिहान नेपाल र अमेरिकाबीचको रोमान्चक खेल 'टाइ' भएको हो  ।

मोसा क्रिकेट मैदानमा नेपालले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन जोडेपछि खेल 'टाइ' भएको हो ।

अमेरिकाका लागि स्टेभेन टेलरले १ सय १४ रनको शतकीय इनिङ खेले ।

यस्तै कप्तान मोनान्क पटेलले ८५ रनको अर्धशतकीय इनिङ खेल्दा आरोन जोन्सले २६ रन जोडे ।

सुशान्त मोदानी १७ तथा राहुल जरिवाला १० रनमा आउट भए  ।

नेपालका आदील आलमले २ विकेट लिए । जित उन्मुख अमेरिकाविरुद्ध आदीलले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरे ।

अमेरिकालाई जितको लागि अन्तिम ६ बलमा ६ रन चाहिँएको थियो । तर,आदीलले पाँच रन खर्चिदै खेल टाइ गराए ।

रोमान्चक बनेको खेलमा अमेरिकालाई अन्तिम दुई बलमा जितका लागि एक रन आवश्यक थियो । पाँचौं बलमा आदीलले आरोन जोन्सलाई पेभेलिएन फर्काए । अन्तिम बलमा राहुल जरिवाला रन आउट भएपछि खेल टाइ भयो ।  

आदील प्लेयर अफ द म्याच चुनिए ।

यस्तै कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले १र१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बल अलआउट हुँदै २ सय ७४ रन जोडेको थियो ।

नेपालका लागि उपकप्तान रोहित पौडेलले ६२ रनको अर्धशतकीय इनिङ खेले ।

त्यस्तै आसिफ शेखले ६१ रनको अर्धशतकीय इनिङ खेल्दा देव खनालले अर्धशतकीय इनिङ खेल्दै ५४ रन बनाए ।

आदीलले ३६ रन जोड्दा कुशल भुर्तेल १९ रन आउट भए । कप्तान सन्दीपले १० रन बनाए ।

आरिफ शेख ८, दिपेन्द्र सिंह ऐरी १ सोमपाल कामी १ रनमा आउट हुँदा करण केसी सुन्य रनमा आउट भए । सुशन भारी १ रनमा अविजित रहे ।

अमेरिकाका रुष्टि थिरनले ४ विकेट लिए । अलि खान र सौरभ नेत्रभाल्करले २र२ विकेट लिए ।

खेल टाइ भएपछि नेपाल र अमेरिकाले एक एक अंक पाएका छन् ।

लिग टु मा नेपाल १४ खेलमा १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

अमेरिका २२ खेलमा २१ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो ।

अमेरिकाले भने पहिलो खेलमा ओमानलाई हराएको थियो।

अब नेपालले तेस्रो खेलमा ओमानविरुद्ध मंगलबार र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध बुधबार खेल्ने तालिका रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित