अर्थमार्फत अख्तियारले झिकायो एनसेलको डलर अपचलनको फाइल, शतिशलाल छानविनमा तानिए

काठमाडौं । मोवाईल सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदमा एक्जिएटाको स्थानिय साझेदार बनेका शतिशलाल आचार्यले डलर अपचलन गरि बिदेशमा रकम पठाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।

 कर कार्यालयले एनसेलको शेयर खरिद बिक्रीमा विदेशी मुद्रा अपचलनको निष्कर्ष निकालेर अर्थ मन्त्रालयलाई जानकारी दिएको थियो  ।

 अख्तियारलेअर्थबाट फाइल मगाएर कही समय अघि देखी नेपाल राष्ट्र बैकका अधिकारीसँग समेत छलफल गरि सो बिषयमा गम्भिर ढंगले अनुसन्धान गरिरहेको अख्तियार उच्च स्रोतले वतायो ।  एनसेलको स्थानीय साझेदारको रुपमा आचार्यले २० प्रतिशत शेयर किनबेचका क्रममा विदेशबाट रकम भुक्तानी गर्दा बिदेशी मुद्रा अपचलन गरेको निष्कर्ष निकाल्दै ठूला करदाता कार्यालयले अर्थमन्त्रालयमा जानकारी पठाएको थियो । स्विडेनको टेलियासोनेराले मलेसियाको एक्जिएटालाई एनसेलको ८० प्रतिशत शेयर बिक्री गर्दा स्थानिय साझेदारको २० प्रतिशत सेयर पनि खरिद विक्रि भएको थियो ।

 टेलियासोनेराको साझेदार रहेका निरज गोविन्द श्रेष्ठले २० प्रतिशत शेयर सिङ्गापुरमा बसोबास गर्ने व्यवसायी शतिशलाल आचार्यकी श्रीमती भावना सिंह श्रेष्ठको नाममा रहेको सुनिभेरा क्यापिटल भेन्चर्स प्रालिलाई बिक्री गरेका थिए ।

 निरजले ११ अर्ब ५७ करोड ६० लाख रुपैयाँमा उक्त शेयर बिक्री गर्दा ११ अर्ब ३२ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन भएको भन्दै दुई अर्ब ८३ करोड १५ लाख रुपैयाँ लाभकर तिरेका थिए । तर, सतिशले सुनिभेराको वासलातमा भने एनसेलको २० प्रतिशत शेयर खरिद गर्दा तीन अर्ब ३१ करोड २४ लाख १५ हजार रुपैयाँ मात्र लगानी गरेको देखाएर सिधै कर ठगि गरेको स्पष्ट देखिन्छ ।

 सुनिभेराको बासलातमा नदेखाइएको आठ अर्ब २६ करोड ३५ लाख ८५ हजार रुपैयाँ भुक्तानी एवं प्राप्त गर्ने मुद्रा, व्यक्ति र स्थान (नेपाल या बाहिर) बारे थप अध्ययन गर्नु पर्ने ठूला करदाता कार्यालयको प्रतिवेदनलाई आधार मानि अख्तियारले अनुसन्धान गरिरहेको छ । नेपालको दूरसञ्चार नीति अनुसार टेलिकम कम्पनीमा स्थानीयको २० प्रतिशत शेयर हुनै पर्ने प्रावधान उल्लंघन भएको र विदेशी मुद्रा अपचलन गरिएको थियो ।

 लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख छँदा राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपाललाई ‘ब्ल्याकमेलिङ’ गरी एनसेलको १० अर्व नगद लाभांश पठाउन दबाब दिएका थिए । पछि अख्तियारमा दिप बस्नेत प्रमुख बनेपछि शतिशलालका कारोबारहरु माथि अख्तियारले छानविन गर्दै आएको छ । स्रोतले भन्यो - अहिले अख्तियारमा बिनोद तिमील्सिना नामका एक दलालले सतिशको डिजाइनमा मुद्दा मिलाउन ठुलो रकको चलखेल गरेका छन् ।सुरुमा तिनै ले लोकमानलाई मिलाएर मुद्दा मिलाएका थिए । ' एनसेल खरिद गर्नु अघि एक्जिएटाले आचार्यलाई कम्बोडियाको टेलिकम कम्पनी स्मार्ट एक्जिएटा मार्फत १० मिलियन डलर लगानी गरेको थियो ।

 यहि लगानीका कारण एनसेलमा एक्जिएटाले शतिशलाल आचार्यलाई नेपालका सम्पूर्ण कानुनी झण्झटबाट मुक्त गराउन दबाब दिंदै आएको छ । त्यतिबेला शतिशले प्राप्त गरेको उक्त रकम नेपालमा सेटिङ मिलाउन खर्च गर्ने गरी एक्जिएटाले लगानी गरेको समेत चर्चा थियो । सोही कारण एनसेल खरिद विक्रीको लाभकर प्रकरणमा आचार्यले देशका शिर्ष नेताहरुदेखि लिएर प्रशासनसम्म चलखेल गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित