कांग्रेस र माओवादी मिल्दा एमालेलाई संकट

deuba, prachanda and oliकाठमाडौं : नेपाली कांग्रेसले आफ्नै पहल र नेतृत्वमा बनाएको संविधानको रक्षाका लागि जोडतोडले प्रमुख राजनीतिक दलहरूलाई दबाब दिइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि भन्दै वामपन्थीहरूको गठबन्धन भत्काएर कांग्रेसको समर्थनमा माओवादी नेतृत्वको सरकार बनाए । सरकार त बन्यो तर त्यसले कांग्रेसको सोच अनुसारको काम गर्न सकेको छैन । देउवाले अहिलेको सरकारले सोचे अनुसारको काम गर्न नसकेको आफ्नो किचन क्याबिनेटमा भन्ने गरेका छन् । देउवाले अहिलेको सरकारको भित्रभित्रै आलोचना गरे पनि पुष्पकमल दाहाललाई तत्काल ‘कु’ गर्ने पक्षमा छैनन् । सरकार गठनका बेला माओवादीसँग भएको लिखित सहमतिअनुसार देउवाले नौ महिनाको समय कुर्ने छन् । आवश्यक प¥यो भने देउवाले दाहाललाई नै चुनाव गर्ने केही समय पनि दिने भित्री मनसाय बनाएका छन् । प्रधानमन्त्री दाहालले इमान्दारिताका साथ संविधान कार्यान्वयन र निर्वाचन गर्ने प्रतिवद्धता जनाउने हो र सोही अनुसारको व्यवहार गर्ने हो भने अहिलेको सरकारको आयू लम्बिने पक्का छ । पटक–पटक प्रधानमन्त्री बनिसकेका देउवामा सत्ताको मोह जाग्नुलाई अन्यथा लिन सकिँदैन । तर, मुलुकको सबैभन्दा ठूलो दलको सभापति भएर सत्ताको बागडोर आफूमा राख्नुका मज्जा अर्कै हुन्छ । यो बुझेका देउवाले प्रधानमन्त्री दाहाललाई छिटोभन्दा छिटो निर्वाचनको मिति घोषणा गर्न दबाब दिएर निर्वाचन गराउन आग्रह गरिरहेका छन् । दाहालकै नेतृत्वमा स्थानीय चुनाव गराउँदा कांग्रेसले फाइदा लिन्छ कि भनेर एमाले त्रसित छ । कांग्रेस र माओवादी मिलेर चुनावमा गयो भने आफूलाई बेफाइदा हुन्छ भनेर एमालेका नेताहरू भित्रभित्रै डराइ रहेको स्रोतको भनाई छ । बाहिर निर्वाचनको पक्षमा देखिए जस्तो गरेर निर्वाचन विथोल्ने र आफ्नो नेतृत्वमा सरकार बनाइ जाने तयारीमा एमालेका नेताहरू छन् । तर, देउवाले एमालेको भित्री योजनालाई कदापि पूरा हुन नदिने गरेर रणनीति बनाएको कांग्रेस स्रोतको भनाई छ । कांग्रेसमा बहुमत नेताहरूले एमालेलाई अझै दश वर्षसम्म सत्तामा नजाने गरेर बाहिर राख्नुपर्ने धारणा देउवालाई सुनाउने गरेका छन् । कांग्रेसका एकजना प्रभावशाली नेताले भने–‘एमालेलाई सत्ताको मोह अत्याधिक भएको छ । कांग्रेसलाई जहिले पनि सत्ताको दोष दिने एमाले पानी विनाको माछा झै भएको छ । यसलाई कम्तिमा दश वर्ष सत्तामा जान दिनु हुँदैन ।’ देउवा पनि एमालेलाई फकाए जस्तो गरेर प्रधानमन्त्री दाहाललाई नै साथमा लिएर अगाडि बढ्ने योजनामा छन् । देउवाले दाहाललाई कुनै पनि दबाबमा नपरेर निर्वाचन गर्न र एमालेको पछाडि नलाग्न सुझाव दिइरहेको स्रोतले जनायो ।

प्रतिक्रिया

सम्बन्धित