बास्तविक सहिदको पहिचान गुम्दै

sahidharuकाठमाडौँ : देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण बलिदान दिने सहिदको सम्झनामा आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ । विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाको संयोजनमा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउन थालिएको हो । सहिद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । सहिद धर्मभक्त माथेमालाई सिफलमा विसं १९९७ कै माघ १३ गते र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मारिएको थियो । राणाशासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवम् शिक्षित गरेको आरोपमा विसं १९९७ मा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । महानगरपालिकाको संयोजकत्वमा गठित मूल समारोह समितिले आइतबार बिहान रत्नपार्कस्थित शान्तिवाटिकाबाट बिहान ८ः१५ बजे प्रभातफेरी सुरु गरी ९ बजे लैनचौरस्थित सहिद स्मारकमा गएर विशेष कार्यक्रम गरेको छ । तर, पछिल्लो समय मुलुकमा चलेको १० वर्षे सशस्त्र द्वन्द्व, २०६२÷६३ सालको जनआन्दोलन, मधेस आन्दोलन र अन्य विभिन्न पहिचानका आन्दोलनपछि सहादत प्राप्त गर्ने व्यक्तिलाई सहिद घोषणा गर्ने प्रचलन बढेको भएपनि सरकारसँग हालसम्म मुलुकमा कति व्यक्ति सहिद भए भन्ने आधिकारिक तथ्याङ्क छैन । नेपालका पहिलो सहिद लखन थापालाई मानिन्छ । त्यसयता सरकारले विसं १९९७ मा प्रजातन्त्रका लागि प्राण आहुति दिने चार सहिद–शुक्रराज शास्त्री, माथेमा, श्रेष्ठ र चन्दलाई सहिद घोषणा गरी विभिन्न कार्यक्रममार्फत प्रत्येक वर्ष सम्झिने गरेको छ । सयता पञ्चायतकालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएका आन्दोलनमा पटकपटक थुप्रै योद्धाले सहादत प्राप्त गरेको भए पनि उनीहरूका बारेमा राज्यले त्यति महत्व दिएको देखिँदैन ।  तर, मुलुकमा पछिल्लोपटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत सहिद घोषणा गर्नुपर्ने र रु १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक सहिदको भावनामा चोट पुगेको छ । राणा शासनको विरोध गर्दा १९९७ मा फाँसी दिएका चारसहित अहिलेसम्म देशमा एक सय २४ जना सहिद भएको गृह मन्त्रालयको तथ्यांक छ ।  गृह मन्त्रालयका अनुसार १९९७ मा चार, ०६२÷६३ को जनआन्दोलनमा मारिएका २५ जनासहित अन्य गरी ६८ जनालाई सहिद घोषणा गरिएको छ । त्यस्तै, तराई मधेस, थरुहट आन्दोलनका क्रममा मारिएका ४१ सर्वसाधारण र ११ सुरक्षाकर्मीसहित ५२ जनालाई पनि सहिद घोषणा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले लैनचौरस्थित शहिद स्मारकमा पुगी शहिदहरुको स्मारकमा माल्यार्पण गरेका छन्। आइतबार बिहान शहिद स्मारकमा पुगेर शहिदहरुप्रति माल्यार्पण गरेका हुन्। माल्यार्पण कार्यक्रममा सभामूख ओनसरी घर्ती, मन्त्रीहरू, सांसदहरु, नेपाल सरकारका बिशिष्ट श्रेणीका कर्मचारीहरू, सुरक्षा अंगका उच्च पदस्थ अधिकृतहरु लगायतका बिशिष्ट व्यक्तिहरुको उपस्थिति थियो। सोही अवसरमा नेपाली सेनाले सहिदको सम्झनामा एक मिनेट सम्मान गारक अर्पण गरेको थियो ।a

प्रतिक्रिया

सम्बन्धित