‘सिंघम’ डिएसपीको लागुऔषध कारोबारीसँग यो कस्तो कनेक्सन ?

rathour and dineshकाठमाडौं : गत भदौ १० गते लागुऔषध कारोवारको अभियोगमा धादिङ तरुण दलका अध्यक्ष दिनेश गुरुङलाई लागुऔषध नियन्त्रण व्यूरो(एनसीबी) ले काठमाडौंको नक्साल भाटभटेनी अगाडिबाट पक्राउ गर्यो । लागूऔषध एमफेटामाइन कारोवारमा थाइल्याण्डको बैंककसम्म सेटिङ मिलाउने गिरोहका नाइके गुरुङ दुई वर्षदेखि फरार सूचीमा रहेका थिए । जब भदौ १० मा व्यूरो प्रमुख डिआईजी जयबहादुर चन्दकै सक्रियतामा गुरुङ पक्राउ परे तब चन्दको मोवाइलमा एक डिएसपीको लगातार फोनको घण्टी बज्यो । डिआईजी चन्दलाई फोन गर्ने डिएसपी अरु कोहि नभएर माहनगरिय प्रहरी बृत्त सोह्रखुट्टेका प्रमुख सोमेन्द्रसिंह राठौर थिए । आफूलाई सिंघम डिएसपी ठान्ने राठौरले डिआईजी चन्दलाई गुरुङ पक्राउ परेको विषयमा कुरा गर्दै भनेका थिए–‘सर ऊ त प्रहरीलाई सूचना दिने मान्छे हो ।’ डिआईजी चन्दले ‘वाइयात कुरा गर्ने ? यो ठूलो कारोबारी हो, यसको सञ्जाल विदेशसम्म रहेको छ’ भन्दै फोन काटेका थिए । अहिले डिआईजी चन्दको लागुऔषध कारोबारीसँग जोडिएको समाचार बाहिर आएपछि उनले माइन्यूज नेपालसँग भने–‘ठूलो गिरोह पक्राउ गर्दा मलाई त त्यहि गिरोहसँग जोडेर बद्नाम पो गर्न खोजिएको रहेछ ।’ गुरुङ पक्राउ पर्दा डिएसपी राठौरले फोन गरेर सुराकी भन्दै जोगाइदिन आग्रह गरेको माइन्यूज नेपालसँग डिआईजी चन्दले स्वीकारे । ‘गुरुङको डिएसपी राठौरसँग राम्रो सम्बन्ध रहेको हुँदा आफूलाई जोगाइदिन आग्रह गरेको रहेछ ।’–डिआईजी चन्दले थपे । गत चैतमा लागूऔषध एमफेटामाइन कारोवारको आरोपमा पक्राउ परेका नेत्र गुरुङ र चित्र तामाङले दिएको बयानका आधारमा दिनेश तामाङ भनिने दिनेश गुरुङ पक्राउ परेका थिए । थाइल्याण्डमा बसेर एमफेटामाइनको कारोवार गर्दै आएका धर्म पाख्रिनले पठाउने लागुऔषध धर्मकै भाइ पूर्ण पाख्रिन र धादिङ तरुण दल अध्यक्ष दिनेशले बिक्री गर्ने गरेको ब्युरोको अनुसन्धानबाट खुलेको थियो । धादिङ मार्पाकका गुरुङ विगतमा प्रहरी कार्वाहीमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’को समूहमा थिए । चरीको समूहमा सक्रिय हुँदा नै गुरुङले लागुऔषध कारोवार गरेको प्रहरीको भनाई छ । विषेश गरेर धादिङमा उत्पादन हुने चरेस थाइल्याण्ड पठाउने र थाइल्याण्डबाट एमफेटामाइन नेपाल ल्याउने धन्दामा उनी सक्रिय रहेको खुलेको थियो । उनी पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भइसकेका छन् । त्यस्तै काठमाडौंमा एक चाइनिज नागरिकको २२ किलो अवैध सुन लुटिदा पनि गुरुङ मुछिएका थिए । सुन लुटपाटमा मुछिएका रसुवाका गुम्बा लामा र कट्टु भन्ने एक भोटेलाई डिएसपी राठौरले जोगाएको स्रोत बताउँछ । त्यसो त अन्सारी थरका एक बद्नाम सईलाई घुमुवा राखेर भित्रभित्रै असुली धन्दा चलाएपछि डिएसपी राठौरलाई आईजीपी उपेन्द्रकान्त अर्यालले २४ घण्टाभित्र रमाना फिर्ता नगरे कारबाही गर्ने चेतावनी दिएपछि राठौरले अन्सारीलाई काज फिर्ता गरेका थिए । हुण्डी कारोबारीसँग डिल नमिलेपछि छिटफुट रुपमा कारबाही गर्दै कार्यालयमा राखेर बार्गेनिङ गर्ने गरेको कुरा महानगरिय प्रहरी आयुक्तको कार्यालयमा पुगेपछि एआईजी प्रतापसिंह थापाले राठौलाई दुई साता अघि हप्काएका थिए ।

प्रतिक्रिया

सम्बन्धित