राष्ट्रिय युवा संघले घेर्यो यातायात व्यवस्था कार्यालय

yuba

ललितपुर । नेकपा एमाले निकट भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले ललितपुरको एकान्तकुनामा रहेकाे यातायात व्यवस्था कार्यालय घेराउ गरेको छ । 

आज सोमवार सङ्घले यातायात कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरणमा अनियमितता, ढिलासुस्ती र लापर्बाही गरेको भन्दै यातायात व्यवस्था कार्यालय घेराउ गरेको हो ।

कार्यक्रममा बाेल्दै राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष किरण पौडेलले अनलाइन फारम भर्ने भनेर अनलाइन साइट खोले पनि पूर्णरूपमा नचल्ने साइट बनाएको आरोप लगाए । उनले साइट नचल्दा नागरिकहरू फेरि बिचौलियाकोमा पुगिरहेको दाबी गरे ।

अध्यक्ष पौडेलले अनलाइन फारम नाममात्रैको भएको भन्दै यसलाई व्यवस्थित गर्न कार्यालयको ध्यानाकर्षण गराए । उनले कर्मचारी र बिचौलियालाई पैसा खुवाएर लाइसेन्सको परीक्षा र ट्रायलदिने काम बन्द गर्नुपर्ने बताए । उनले देशका धेरै कार्यालयहरूमा पारदर्शिताको अभाव रहेको दाबी गर्दै यातायात कार्यालयले मनपरी रूपमा लाइसेन्स लगायतका कुराहरूमा ढिलासुस्ती गर्न नहुने बताए ।

उनले सहजै हुने काम पनि पैसाका लागि घुमाउरो बाटो अपनाएर लम्ब्याउने काम भइरहेको आरोप लगाए । उनले यातायात कार्यालयमा भएका सबै सेटिङ र बिचौलियालाई जरोदेखि नै ध्वस्त पार्न आवश्यक रहेको बताए । युवा सङ्घको आन्दोलनलाई चानचुने रूपमा नलिन पनि उनले चेतावनी दिए ।

युवा सङ्घका प्रदर्शनकारीहरूले ढुङ्गेयुगको अनलाइन फारम, भर्नेलाई भन्दा हेर्नेलाई सरम, लाइसेन्स प्रिन्टलाई विकेन्द्रीकृत गर लगायतका ब्यानर र नारा लगाएर विराेध गरेका थिए। 

प्रतिक्रिया

सम्बन्धित