देशभरका विभिन्न सवारी दुर्घटनामा ७ को मृत्यु

Accident

काठमाडौं। काठमाडौं, चितवन, तनहुँ, बारा र नुवाकोटका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । 

काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित सडकमा बा.५ ख २८७२ नम्बरको बस र बा.७० प ६१२८ नम्बरको मोटरसाइकल शनिबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक नागर्जुन नगरपालिका–१ रानीवन बस्ने २८ वर्षीय रोमन थापा मगर रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

चितवनको भरतपुर महानगरपालिका–१० स्याउली बजारस्थित सडकमा बा.१३ च २३७१ नम्बरको कारले प्रदेश ३–०१–२२ च ७५५४ नम्बरको भ्यानलाई शनिबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भ्यान चालक नवलपरासी (पश्चिम) प्रतापपुर गाउँपालिका–७ बस्ने २४ वर्षीय अमृत कुमार कुशवाहा रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा ना.६३ प ११०९ नम्बरको स्कुटरमा समेत क्षति पुगेको छ । तीन वटै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

चितवनकै भरतपुर महानगरपालिका–१५ रामपुरस्थित सडकमा ग.२ च ९०६२ नम्बरको कारले ना.३३ प १४५५ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

तनहुँको ब्यास नगरपालिका–११ फरकचौरस्थित सडकमा ग.१ क ३६८३ नम्बरको बस र ग.१५ प ६५०४ नम्बरको मोटरसाइकल शनिबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही नगरपालिका–११ बस्ने २३ वर्षीय बिक्रम सुनार रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बाराको महागढीमाई नगरपालिका–५ दहियारस्थित सडकमा प्र.२–०३–०२० प ४१७२ नम्बर मोटरसाइकल  शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सर्लाही सेखौना बस्ने २८ वर्षीय अरबिन्द कुमार कुशवाहा रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको राजलक्ष्मी अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । 

नुवाकोटको लिखु गाउँपालिका–६ छहरेस्थित सडकमा ना.६२ प ९५२१ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २७ वर्षीय करण केसी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय अनिस श्रेष्ठलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौं ल्याइएको छ । 

नुवाकोटको ककनी गाउँपालिका–१ महालक्ष्मीथानस्थित सडकमा बा.४ ख ३७२८ नम्बरको टिपर आइतबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको । 

मृत्यु हुनेमा टिपरमा सवार ककनी गाउँपालिका–१ बस्ने ३२ वर्षीया बसन्ती बलामी रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका टिपरमा सवार ५ जनालाई उपचारको लागि काठमाडौं ल्याइएको छ ।  

 

प्रतिक्रिया

सम्बन्धित