इन्टरपोलको सम्मेलनमा आतंकवाद र संगठित अपराध नियन्त्रणमा जोड

intorकाठमाडौं। अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन ( इन्टरपोल) को २३ औँ एसिया क्षेत्रीय सम्मेलन ह्यात होटलमा बुधवारबाट सुरु भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले सम्मेलनको  उद्घाटन गर्दै  संगठित अपराध एसियाका सबै देशहरुको सामूहिक समस्या रहेको हुँदा  नियन्त्रणका लागि एसियाका देशहरुबीच सामूहिक सहकार्य तथा सहयोगको आवश्यकता रहेकोमा जोड दिएका छन् ।

 इन्टरपोलका अध्यक्ष मेङग होङवीले  इन्टरपोलसंग आबद्ध बिभिन्न राष्ट्रहरुले आ–आफ्नो राष्ट्रमा अपराध नियन्त्रणमा गरेका प्रयासहरु तथा अनुभवहरु एक आपसमा साटासाट गर्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताउदै बर्तमान अवस्थामा संगठित अपराध,आतंकवाद तथा साइबर क्राइम जस्ता अपराध नियन्त्रणमा देखिएका चुनौतिहरुको समाधानका लागि सम्मेलन फलदायी हुने बताए ।

 उप–प्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले सम्मेलनमा सहभागी राष्ट्रका प्रतिनिधिहरुलाई क्रियाशिल भएर संगठित अपराध तथा बर्तमान अवस्थामा अपराध नियन्त्रणमा देखिएका चुनौतीहरुको पहिचान गरी त्यस्ता अपराधहरुको नियन्त्रणका लागि कानून कार्यान्वयन गर्ने निकायहरु एक्यबद्ध भई अगाडी बढ्नुपर्ने उल्लेख गरे ।

 सम्मेलनमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले इन्टरपोलमा आबद्ध एसियाका देशहरुबीच आतंकवाद, संगठित अपराध, साइबर क्राइम, आर्थिक अपराध जस्ता अपराध नियन्त्रण गर्न एकआपसमा सहयोग तथा सहकार्य आवश्यक रहेको र त्यस्ता अपराध नियन्त्रणका लागि एकआपसमा प्रबिधि तथा सूचनाहरु आदान प्रदान गर्न समेत सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने बताए ।

 अर्यालले मानव बेचबिखनमा देखिएका चुनौति र अवस्थाबारे नेपालको तर्फबाट कार्यपत्र प्रस्तुत गर्ने समेत जानकारी दिएका छन् ।  बिभिन्न ३३ राष्ट्रका १ सय ३२ प्रतिनिधिहरु सहभागी ३ दिन सम्म संचालन हुने उक्त सम्मेलनमा मानव बेचविखन, बालबालिका विरुद्ध हुने अपराध, सीमा सुरक्षा तथा व्यवस्थापन, सीमावर्ति अपराधहरु, आतंकवाद, साइबर अपराध, वन्यजन्तुसम्बन्धी अपराधका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित