सुन तस्करीमा डिआईजीलाई जोगाउन एसएसपी तानिए

govindaकाठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३४ किलो अवैध सुन तस्करी प्रकरणमा विमानस्थलका एसएसपी श्यामबहादुर खत्री अनुसन्धानका लागि प्रहरी मुख्यालय तानिएका छन् । विमानस्थलभन्दा बाहिर ३४ किलो सुनसहित पक्राउ परेका अभियुक्तले दिएको बयानका आधारमा एसएसपी खत्रीलाई अनुसन्धान गर्न हेडक्वार्टर बोलाएको समाचार बाहिर आएपनि भित्री पाटो भने विमानस्थलका डिआईजी गोविन्द निरौलालाई जोगाउन रचिएको षड्यन्त्र रहेको प्रहरी अधिकारीहरु नै बताउँछन् । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले खत्रीलाई विमानस्थलबाट फिर्ता बोलाएका हुन् । केन्द्रिय अनुसन्धान व्यूरो (सिआईवी) ले पिंगलास्थानबाट ३४ किलो अवैध सुनसहित पक्राउ गरेका तीन अभियुक्तलाई संगठित अपराध अभियोगमा हिरासतमा राखी अनुसन्धान जारी राखेको छ भने भन्सारका दुई कर्मचारीलाई पनि पक्राउ गरेको छ । तर, सिआईवीले छानविन गर्दा गर्दै एसएसपी हेडक्वार्टर तानिनु र डिआईजीलाई कुनै कारबाही नगरिनुको पछाडि मुख्य अभियुक्तलाई जोगाउन रचिएको चलेखल त होइन भन्ने आशंका उब्जिएको छ । आईजीपी अर्यालले छुट्टै समिति बनाएर सिआईवीले थालेको अनुसन्धानलाई निस्कृय बनाई अवकाशको मुखमा मुख्य अभियुक्तलाई जोगाउन यो खेल रचेको समेत स्रोतले जनायो । सिआईवीले प्रारम्भिक अनुसन्धानमा नै एयरपोर्टका प्रहरीको संलग्नता विना सुन तस्करी हुन नसक्ने निष्कर्ष निकालेको थियो । तर, विमानस्थलको कमाण्ड सम्हालेर बसेका डिआईजी निरौलालाई भने चोख्याउने षड्यन्त्र रचिएपछि ३४ किलो सुन काण्डका मुख्य अभियुक्त रहस्यकै गर्भमा रहने भएका छन् । सिआईवीका अधिकारीले एयरपोर्टका प्रहरीसँग समन्वय नगरी अप्रेसन गरेर संगठनकै बद्नाम गराएको भन्दै आईजीपी अर्यालले आफु निकटकालाई बताउने गरेका छन् । सिआईवीका एक प्रहरी अधिकारीका अनुसार डिआईजी निरौलालाई तुरुन्तै निलम्बन गरी हेडक्वार्टर झिकाएर अनुसन्धान नथाल्ने हो भने सुन तस्करीको मुख्य गिरोहसम्म प्रहरी पुग्न सक्दैन । गृहमन्त्री विमलेन्द्र निधीले उक्त काण्डको अनुसन्धान सिआईवीले नै गर्ने भन्दै छुट्टै समिति नचाहिने बताएका थिए । विजयलाल कायस्थ विमानस्थलको सुरक्षाप्रमुख भएदेखि नै हुँदै आएको सुन तस्करीप्रति आईजीपी अर्याल जानकार थिए । तर, सुन तस्करी प्रकरणमा अर्यालको पनि स्वार्थ लुकेको हुँदा निरौलालाई कारबाही गर्न उनी चाहँदैनन् । यसअघि सुन तस्करी प्रकरणमै डिआईजी गोपाल भण्डारी र एसएसपी रविराज श्रेष्ठलाई कारबाही भएको थियो । तर, एयरपोर्टको सुरक्षा सम्हालेर बसेका डिआईजी निरौलाको कमजोर चेन अफ कमाण्डका कारण वा उनकै संलग्नतामा सुन तस्करी भएको हो ? सिआईवीले तुरुन्तै पत्ता लगाउन सक्नुपर्छ र आईजीपी अर्यालले यसमा हस्तक्षेप गर्न नहुने एक प्रहरी अधिकारी बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित