राष्ट्रपति भण्डारी पोखरामा, मंगलबारमात्र राजधानी फर्कने

President_bidhya

कास्की । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने भ्रमणका लागि आज पोखरा आएकी छिन्।

कास्की प्रहरीका अनुसार उनी बुद्ध एयरको उडानमार्फत अपरान्ह पोखरा आएकी हुन्। उनी आज पोखराका कुनै पनि औपचारिक कार्यक्रममा सहभागी हुने तालिका छैन। मंगलबार भने विभिन्न तीन वटा कार्यक्रममा सहभागी हुनेछिन्।

राष्ट्रपति भण्डारीले मंगलबार बिहान पोखराको विन्ध्यवासिनी मन्दिरको दर्शन गर्नेछिन्। दिउँसो बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको हिरक जयन्ती समापन समारोहमा सहभागी हुनेछिन् भने विद्यालयका नवनिर्मित भवन उद्घाटन गर्नेछिन्।

मंगलबार नै गुरूङ समुदायले ट्होंटे पर्वको अवसरमा आयोजना गर्ने कार्यक्रममा पनि राष्ट्रपति सहभागी हुनेछिन्। यी तीन वटा कार्यक्रममा सहभागी भएर उनी मंगलबार नै काठमाडौं फर्किनेछिन्।

राष्ट्रपति भण्डारीले आइतबार साँझ प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेको नागरिकता विधेयक १५ बुँदे सुझावसहित आइतबार फिर्ता गरिदिएकी थिइन्।

भण्डारीको उक्त कदमप्रति सत्तारुढ गठबन्धनका नेताहरुले आलोचना गरिरहेका छन् भने विपक्षी नेकपा एमालेले स्वागत गरेका छन् ।

नागरिकता विधेयक फिर्ता गरेको भोलिपल्टै राष्ट्रपति भण्डारीको पोखरा भ्रमणलाई महत्वका साथ हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित