शीतल निवासमा पुगेका पूर्व राजा राष्ट्रपतिसँग बोलेनन्

Gyanendra-sahaकाठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा नै कान्छी छोरीको धुमधामसँग विवाह गरेर कन्यादान गरेकी छन् । सोमबार राष्ट्रपति भवन, शीतलनिवासमा राष्ट्रपति भण्डारीले कान्छी छोरी निशाकुशुमको विवाह गरिदिएकी हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ–‘डा. निशाकुशुम भण्डारीले ई. अभिषेक यादवलाई स्वयमंवर ग्रहण गर्नुभयो । विहान १० बजेको शुभ साइतमा स्वयमंवर समारोहमा ई. अभिषेक यादवको साथमा उहाँका पिता ई. मुनीलाल यादव तथा माता किरण यादव समेत आफन्तहरुका साथ शीतलनिवास आउनुभएको थियो ।’ ‘सो अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू एवम् उहाँका परिवार र आफन्तजनहरु समेतको उपस्थिति रहेको थियो ।’ विज्ञप्तिमा भनिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह पनि निशाकुसमको विवाहमा सहभागि भए । राष्ट्रपति भण्डारीको निम्तोमा सोमबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवास पुगेका शाहले राष्ट्रपतिपुत्री निशाकुशुमलाई आर्शिवाद समेत दिए । राष्ट्रपतिपुत्री निशाकुशुम र पूर्वराष्ट्रपति रामवरण यादवका नाती अभिशेषको आज शीतल निवासमै विहे भएको हो । यसैको अवसर पारेर ज्ञानेन्द्र राजगद्धी छाडेको झण्डै १० वर्षपछि पहिलोपटक राष्ट्रपति कार्यालयमा पाइला टेकेका हुन् । विवाह समारोहमा पुगेर पूर्वराजा ज्ञानेन्द्रले बर बधुलाई पुष्पगुच्छा दिँदै आशिर्वाद दिए । त्यसपछि उनी पूर्वपञ्चहरु बसेको टेबलमा आएर बसे । जहाँ पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, कमल थापा, पशुपति समशेर राणा, पूर्वसेनापति प्यारजंग थापा र सांसद गणेश थापासँग राउण्ड टेबलमा बसेर चिया पिउँदै भलाकुसारी गरे । पूर्वराजाले पूर्वपञ्चहरुसँग व्यक्तिगत सञ्चो विसञ्चो सोधे र शीतल निवासबाट बाहिरिए । शीतल निवासमा झण्डै २० मिनेट विताएका ज्ञानेन्द्रले आफ्नो औपचारिकता मात्रै निभाए । उनले अन्य नेताहरु तथा समारोहमा सहभागी कुटनीतिज्ञ कसैलाई भेटेनन् र राष्ट्रपतिलाई नमस्कार भन्न शिवाय कुनै औपचारिक कुराकानी गरेनन् ।

प्रतिक्रिया

सम्बन्धित