तीन महिनाभित्र एनसेलबाट कर असुल्न अर्थ मन्त्रालयलाई निर्देशन

Ncell brand logo

काठमाडौं : व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको सेयर खरिद बिक्रीमा लाग्ने पूँजीगत लाभकर कार्ययोजना बनाई आगामी तीन महिनाभित्र असुल उपर गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले गत वर्ष एनसेलको मुख्य सेयरहोल्डर रेनोल्ड होल्डिङ्सको सेयर बिक्री बापत भएको लाभकर निर्धारण गरि असुल गर्न निर्देशन दिएको हो । समितिको निर्णयमा भनिएको छ–‘एनसेलको सेयर खरिद बिक्रीमा लाग्ने पूँजीगत लाभकर कार्ययोजना बनाई आयकर ऐन–२०५८ को प्रावधान बमोजिम निर्धारण गरी आगामी ३ महिनाभित्र असुलउपर गर्न अर्थमन्त्रालयलाई निर्देशन दिने ।’ समितिले मन्त्रालयलाई कर निर्धारणका सम्बन्धमा भएका कामकारबाहीको जानकारी समितिलाई प्रत्येक महिना उपलब्ध गराउन पनि निर्देशन दिएको छ । बैठकमा उपस्थित अर्थसचिव शान्तराज सुवेदी र आन्तरिक राजस्व विभागका महानिर्देशक चुणामणी शर्माले करको विषयमा कर अधिकृतको भएको बताएपछि बैठकले अर्थ मन्त्रालयलाई सामूहिक जिम्मेवारी र जवाफदेहिताभित्र रहेर कर निर्धारण गर्न निर्देशन दिएको हो । बैठकले गत जेठ १६ गते समितिले कर असुल नगर्ने निकाय र त्यसमा सम्लग्न अधिकारीलाई अनुसन्धान र छानविन गरी तीन महिनाभित्र प्रतिवेदन दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाएकोमा हालसम्म जानकारी प्राप्त नभएको तत्कालै जानकारी दिनका लागि फेरि अख्तियारलाई पत्र पठाउने निर्णय समेत गरेको छ । एनसेलले सरकालाई ३५ अर्व लाभकर बुझाउनु पर्ने हुन्छ । पछिल्लो समयमा जनस्तरको चर्को विरोध र केही मिडियामा लाभकर छलीका समाचार निरन्तर आइरहेपछि एनसेलले पूँजीगत लाभकर बापत झण्डै १० अर्व रकम राज्य कोषमा दाखिला गरिसकेको छ । अझै ३५ अर्व रकम लाभकरवापत बुझाउन पर्ने एनसेलले मिडिया क्याम्पेन गरी विदेशी लगानी दुरुत्साहित गर्न खोजिएको भन्दै लाभकर छल्न खोजिरहेको छ । एनसेलमा २० प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने शतिशलाल आचार्यले नेपालका नेता देखि प्रशासक सम्मलाई उल्लु बनाएर ३५ अर्व रकम राज्यलाई घाटा पु¥याउने खेलमा अझै लागिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित