मध्यपुर थिमी पनि अनधिकृत संरचनाविरूद्ध 'एक्सन'मा, ३५ दिनभित्र हटाउन निर्देशन

madhyapur thimi

भक्तपुर । भक्तपुरस्थित मध्यपुर थिमि नगरपालिकाले सडक अतिक्रमण हुने गरी बनाइएका संरचनाहरू ३५ दिनभित्र हटाइसक्न निर्देशन दिएको छ।

आज सूचना जारी गर्दै नगरपालिकाले अतिक्रमण गरी बनाइएका संरचना नहटाए कारबाही गर्ने चेतावनीसमेत दिएको हो ।अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगरका भित्री सडक र क्षेत्रमा भवन निर्माणसम्बन्धी मापदण्डविपरीत संरचना बनाइएको पाइएको नगरपालिकाको भनाइ छ ।

“नगरपालिका क्षेत्रभित्रको अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरू र नगरका अन्य भित्री सडकहरू तथा क्षेत्रमा समेत प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड विपरित सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी विभिन्न संरचनाहरू निर्माण गर्ने, सार्वजनिक आवागमनमा बाधा अवरोध पुग्ने गरी निर्माण सामग्रीलगायत अन्य सामग्री राख्ने गरिएको पाइएको छ,” सूचनामा उल्लेख छ, “अव्यवस्थित रूपमा सवारी साधनहरू पार्किङ गर्ने र सडक फुटपाथमा व्यापार व्यवसाय गरी आवागमन अवरुद्ध बनाउने कार्य गरेको देखिएकोले यो सार्वजनिक सूचना जारी गरिएको छ ।”

सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी बनाइएका त्यस्ता संरचना ३५ दिनभित्र हटाउन र नहटाएमा कारबाही गरिने नगरपालिकाले बताएको हो। यस्तै सार्वजनिक आवागमनमा बाधा पुग्ने गरी निर्माण सामग्रीलगायत अन्य सामग्री राख्नेलाई पनि त्यसो नगर्न नगरपालिकाले भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित