यि हुन सुन तस्करीका भूमिगत बादशाह, केरुङ र भुटान नयाँ रुट

goldnayaकाठमाडौं । भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि नेपाली कारोबारीहरुका लागि सुन तस्करीको नयाँ रुट रसुवाको केरुङ र भुटान बन्न पुगेको छ ।

 तस्करहरुले रुट परिवर्तन गरेकाले तातोपानीबाट सुन तस्करी गर्ने समूह केरुङ नाकातिर लागेको हो । सुन तस्करले सीमा सुरक्षामा खटिएका चारओटै सुरक्षा निकायलाई छक्याएर काठमाडौंसम्म सुन ल्याउन सफल हुनु सामान्य मानिदैन ।

 दुई साता अघि केरुङ नाकाबाट विभिन्न सुरक्षा घेरा पार गर्दै काठमाडौंको कलंकी आइपुगेको हाइलक्स गाडिबाट अपराध महाशाखाले सात किलो सुन बरामद् ग-यो । केही महिना अघि मात्रै रसुवाको टिमुरेमा कुङजाङ तामाङको साथबाट ६ किलो अवैध रुपमा तस्करी भैरहेको सुन बरामद भयो । काठमाडौंको जोरपाटीमा मध्यरातमा मोटरसाइकलबाटै प्रहरीले १० किलो सुन बरामद गरेको थियो ।

 सुन बोकेर आउने २ जना फरार भए पनि प्रहरीले मोटरसाइकलको एयर फिल्टरबाट १० किलो सुन बरामद गरेको थियो । उक्त सुन पनि रसुवाकै रुटबाट काठमाडौं भित्रिएको प्रहरीको निष्कर्ष छ । तर, दैनिकजसो रसुवा नाकाबाट ५० किलो सुन काठमाडौं भित्रिएको भए पनि सेटिङ विग्रिएको बेलामा मात्र प्रहरीले बरामद गर्दै आएको छ ।

 तातोपानी नाकामा रक्तचन्दन देखि सुनको अवैध कारोबार गर्ने पुरानै गिरोह यतिबेला भूमिगत रुपमा रसुवा नाकामा सक्रिय भई भरिया लगाएर काम गर्दै आएको छ । अमेरिकी डलर अपचलन गरेको अभियोगमा पक्राउ परेका सिन्धुपाल्चोक फुल्पिङकट्टिका नारायण पौडेलले ठूलो रकम बुझाई अदालबाट छुटेपछि छुट्टै समूह बनाई सुन तस्करीलाई पेशा नै बनाएका छन् । उनी पुराना चन्दन तस्कर हुन् । चन्दनको कारोबारमा टाट पल्टेर धेरैले कारोबार छाडेपनि पौडेल भने यतिबेला सुन तस्करीमा लागेका छन् ।

 सुन तस्करीमा उनका भतिजा सुमन पौडेलदेखि बच्चु पौडेल, प्रदीप सरिया, गोविन्द सरिया, मिनबहादुर श्रेष्ठ र आत्माराम श्रेष्ठसमेतको संलग्नता रहँदै आएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सिआईवी) ले यि व्यक्तिहरुमाथि गोप्य रुपमा अनुसन्धान थाल्ने हो भने रसुवा नाकाको सुन तस्करीको सबै सेटिङ भताभुंग हुने एक प्रहरी अधिकारीले बताए । तातोपानी नाकामा तस्करका रुपमा चिनिएका गोवद्र्धन श्रेष्ठको काठमाडौंको टोखा जाने बाटोमा रहेको ठूलो आलिशान महल सुन तस्करी गरेकै पैसाले आत्मारामले खरिद गरेका छन् । तस्करीको  सेटिङ मिलाउने सुमन उक्त घरमा बसेर केरुङ नाकाबाट काम गर्दै आइरहेका छन् ।

 उनीहरुले भुटान नाकालाई पनि प्रयोग गरी सुन तस्करीको सेटिंग मिलाएका थिए ।  व्यापारकै शिलशिलामा भुटान पुगेका आत्मारामको ३५ किलो सुन एक व्यक्तिले खाइदिएपछि उनीहरुले केरुङ नाकालाई रोजेर काम गरिरहेको स्रोतको भनाई छ । अहिले बजारमा हुने हुण्डी र डलरको कारोवारमध्ये झण्डै ३५ प्रतिशत कारोवार र चाइनाको हुण्डीको कारोवारमध्ये झण्डै ८० प्रतिशत कारोवार प्रदीप सरिया र बच्चु पौडेलको समूहले गर्दै आएको छ ।

 मीनबहादुर श्रेष्ठले भने तस्करी गरेकै पैसाले चाइनाको ग्वाङ्जोमा नेपाली खानाको होटल सञ्चालन गरेका छन् । उनका दुई छोराहरू पनि ग्वाङ्जोमा नै बस्दछन् भने उनका भाई आत्मारामले भुटानको रुट प्रयोग गर्न अझै छाडेका छैनन् । आत्मारामले श्रीमानसँग विछोड भएकी भुटानी महिलालाई गर्ल फ्रेण्ड बनाई उनैसँग भुटानको फिन्चुलिङमा बसेर कारोबार गर्दै आएको स्रोतको भनाई छ ।

 उनीहरूले ल्हासाबाट भुटान हुँदै सुनको तस्करी गर्दछन् । तस्करीकै शिलशिलामा आत्माराम र सुमनले भुटानको चुलिङमा समेत आफ्नो बस्ने ठाउँको व्यवस्था गरेका छन् । यसरी भुटान भित्रिएको तस्करीको सुन चुलिङमा हात परेपछि यिनीहरुले माग अनुसार नेपालका अलवा सिलगुडी, सिक्किमलगायतका भारतका सहरहरूमा पठाउने समेत गर्छन् ।

 अहिले उनीहरूले तातोपानी नाका नखुल्दासम्मको अवस्थामा भुटानको नाका र केरुङलाई मुख्य केन्द्रविन्दु बनाएर सुन तस्करी गर्दै आइरहेका छन् । अधिकांश समय काठमाडौंमै रहने नारायण पौडेलकै डिजाइनमा उनीहरुले सुन, डलर र हुण्डीको कारोबार गर्दै आएका छन् । यूनाइटेड पोष्ट साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित