'पर्यटनमन्त्री श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्छ'

rastriya sava_1

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने संसदमा आवाज उठेको छ । 

आफ्नो जिम्मेवारी पालना गर्दा सुरक्षागार्डलाई पक्राउ गरी थुनामा राखिएको घटनाको विषयलाई लिएर मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा मन्त्री श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरिएको हो । 

बैठकको शून्य समयमा बोल्दै डा. विमला राई पौडेलले जनताले तिरेको करबाट तलबभत्ता खाने शासक नभएर सेवक रहेको भन्दै मन्त्री श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएकी हुन् । 

‘जनताले तिरेको करबाट सेवासुविधा लिने हामी जनप्रतिनिधि, प्रधानमन्त्री, मन्त्री र सरकारका सबै अंगहरु जनताका सेवक हुन्, शासक होइनन् । दुई दिनअगाडि एक जना विद्यमान मन्त्रीले एउटा कार्यालयमा भिसा लिन जाँदा एउटागार्डमाथि गरेको अमानवीय व्यवहार एकदमै अस्वीकार्य छ,’ उनले बैठकमा भनिन्, ‘उहाँले (मन्त्री श्रेष्ठ) सार्वजनिक रुपमा माफी माग्नुपर्छ । राजीनामा त उहाँले दिनुहुन्न मलाई थाहा छ, तर सार्वजनिक रुपमा भने माफी माग्नुपर्छ ।’ 

आफूहरु शासक नभएर सेवक रहेको स्थापित गर्न पनि मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने उनको माग छ । 

‘हामीहरु सेवक हौँ, शासक होइनौँ । यो कुरालाई स्थापित गर्नुपर्छ । यो एकजना गार्ड र एकजना मन्त्रीको कुरामात्र होइन, विधिको शासन, विधि बनाउनेहामी, विधि उल्लंघन गर्ने हामी, विधि उल्लंघन गर्न नदिँदा श्रमिकलाई पाँचदिन थुनामा राख्ने पनि हामी, यो असाध्यै भएन । यसप्रति सरकारको ध्यान तुरुन्तै जाओस् । मन्त्री पनि माफी माग्नुपर्छ भन्ने पनि माग गर्छु,’ उनले भनिन् । 

प्रतिक्रिया

सम्बन्धित