फोहोर व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई, दुई मेगावाट बिजुली उत्पादन

काठमाडौं : काठमाडौं महानगरपालिकाले उठाउँदै आएको राजधानीको फोहोर व्यवस्थापनका लागि लगानी बोर्डले निजी कम्पनी नेपवेस्टसँग परियोजना विकास सम्झौता (पीडीए)को तयारी गरेको छ । बोर्डले वार्ता सकेर पीडीएको अन्तिम मस्यौदा नेपवेस्टलाई पठाएको छ । कम्पनीले त्यसलाई स्वीकृत गरेपछि पीडीएमा हस्ताक्षर हुनेछ । आगामी जनवरीभित्रै सम्झौताको तयारी भइरहेको लगानी बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिए । त्यसको तीन महिनापछि नेपवेस्टले काठमाडौंको फोहोर उठाउन थाल्नेछ । पहिलो चरणमा काठमाडौं महानगरपालिकासहितका १० नगरपालिकालाई समेट्ने गरी फोहोर व्यवस्थापन गर्न लागिएको हो । त्यसमा कीर्तिपुर नगरपालिका भने पर्दैन ।अहिले महानगर तथा नगरपालिकाहरुले आफैं फोहोर व्यवस्थापन गर्दै आएका छन् । उक्त कम्पनी नेपालको अर्गानिक भिलेज र फिनल्यान्डको कम्युनिकेसन प्रालिको ‘जोइन्ट भेन्चर’ हो । काठमाडौं, भक्तपुर, ललितपुर, दक्षिणकाली, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी र शंकारापुरमा पहिलो चरणमा परियोजना लागू हुनेछ । संकलित फोहोर प्रशोधन र विसर्जन गरिने भएको छ । उक्त कम्पनीले उपत्यकाको फोहोरबाट बिजुली, ग्यास, कोइला र कम्पोस्ट मललगायत उत्पादन गर्नेछ । उक्त कम्पनीले संकलित फोहोरबाट कम्पनीले दुई मेगावाट बिजुली उत्पादन गर्नेछ, जसलाई आफ्नै प्लान्टमा खपत गर्नेछ । वर्षमा एक लाख ४० हजार टन मल उत्पादन गर्नेछ । कम्पनीले बोटलिङ गर्न मिल्ने ग्यास पनि उत्पादन गर्नेछ । यो परियोजनामार्फत् वर्षमा एक करोड ४१ लाख १७ हजार ६ सय २० क्युविक मिटर मिथेन ग्यास उत्पादन हुनेछ । त्यसलाई सिलिन्डरमा राखेर कम्पनीले बजारमा बिक्री गर्नेछ । यस्तै, ल्यान्डफिलबाट पाँच लाख क्युबिक मिटर ग्यास पनि उत्पादन हुनेछ । यसलाई बिजुली निकाल्न उपयोग गरिनेछ । कम्पनीले काठमाडौंबाट उठाउने फोहोरबाट रिफ्युज डिराइभ्ड फ्युल (आरडीएफ) पनि उत्पादन गर्नेछ । वर्षमा ५० हजार टन आरडीएफ बजारमा बेच्ने कम्पनीको योजना छ । आारडीएफ अहिले इँटाभट्टा र होटेलहरुमा प्रयोग भइरहेको पत्थर कोइलाको विकल्प बन्ने आशा छ । कम्पनीले सन् २०२० सम्ममा ग्यास, बिजुली, आरडीएफ, मल उत्पादन थाल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित