डन टक्ला बने नमुना : राज्यमन्त्री, हत्यारा हुँदै भ्रष्टाचारी साबित

Sanjya Kumar Sah

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित सांसद सञ्जयकुमार साहले पदीय दुरुपयोग गरी साढे ३१ करोड रुपैयाँभन्दा बढी अकूत सम्पत्ति आर्जन गरेको अभियोगसहित उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

हत्या अभियोगमा अदालतको आदेशबाट जेलमा रहेका साहले सांसद, मन्त्रीलगायतका सार्वजनिक पदको दुरुपयोग गरी कमाएको सम्पत्तिमध्ये ३१ करोड ५० लाख २६ हजार ५ सय ५९ रुपैयाँबराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको अख्तियारको दाबी छ ।

अख्तियारले स्रोत खुल्न नसकेको सो सम्पत्तिलाई भ्रष्टाचार मान्दै सो रकमबराबरको बिगो र जरिवाना असुल गरी कैद सजायसमेत माग गर्दै मुद्दा दायर गरेको हो । साहले सार्वजनिक पदधारण गरेदेखि सो पदमा बहाल रहँदा पद र अधिकारको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरी पदीय हैसियत अमिल्दो र उच्च जीवनस्तर बनाएको अख्तियारको दाबी छ ।

मधेसी जनअधिकार फोरमबाट संविधानसभा निर्वाचनमा धनुषा–४ बाट निर्वाचित भएका साह पूर्वभौतिक योजना तथा निर्माण राज्यमन्त्रीसमेत हुन् । हत्या अभियोगमा प्रहरीले पक्राउ गरी अदालतको आदेशबाट जेल चलान भएपछि साह निलम्बित छन् ।सार्वजनिक पदधारण गरेको अवधिमा उनले आफू र परिवारका सदस्यका नाममा रहेका कम्पनी तथा व्यावसायिक फर्मका कारोबार र ती कम्पनी तथा व्यावसायिक फर्मका कर्मचारीका नाममा समेत आर्थिक अनियमितता गरेको अख्तियारको दाबी छ ।‘आर्थिक कारोबार तथा परिवारका सदस्यलगायतका नाममा खरिद एवं लगानी गरेको चलअचल सम्पत्तिहरूका सम्बन्धमा तथ्य प्रमाणहरूलाई छानबिन एवं विश्लेषण गरी हेर्दा निजले आयआर्जन गरेको वैध आयको तुलनामा ३१ करोड ५० लाख २६ हजार ५ सय ५९ रुपैयाँ २७ पैसाबराबरको सम्पत्ति गैरकानुनी रूपमा बदनियतपूर्ण तवरले आर्जन गरेको र मनासिब कारणविना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी खर्च गरेको तथा स्रोत नखुलेको सम्पत्तिबाट बढीबढाउ गरेको समेत देखिन आयो,’ अख्तियारले विशेष अदालतमा पेस गरेको अभियोगपत्र (मुद्दा) मा भनिएको छ ।अख्तियारले निलम्बित सांसद साहले गैरकानुनी रूपले आर्जन गरेको रकमबाट जोडेको तथा बढाएको चल–अचल सम्पत्ति जफत गर्न मागसमेत गरेको छ । साहले बुवा साधु साह सुडी, आमा दुलारीदेवी सुडी, श्रीमती रंगिला देवी, भाइ रामकुमार साह, कम्पनी तथा व्यावसायिक फर्मका कर्मचारीहरू राममिलन राउत कुर्मी र मनोजकुमार सिंहकी श्रीमती निलम सिंहलगायतको नाममा समेत गैरकानुनी सम्पत्ति लुकाएर राखेको अख्तियारको दाबी छ ।अख्तियारले सम्पत्ति लुकाउन सहयोग गरेको अभियोगमा उनीहरूविरुद्ध समेत मुद्दा दायर गर्दै परिवार र कर्मचारीको नाममा रहेको सम्पत्ति, बंैक खाता तथा उनका परिवारले सञ्चालन गरेको पेट्रोल पम्पलगायतको आर्थिक कारोबार रोक्नसमेत सम्बन्धित सरोकारवाला निकायलाई निर्देशनसमेत दिएको अख्तियारले जनाएको छ ।अख्तियारका अनुसार साहका भाइ रामकुमारको नाममा रहेको मिथिला मनी ट्रान्सफर प्रालिले एक शाखाबाट अर्को शाखामा रकम पठाउँदा र झिक्दा बैंकिङ प्रणालीमा नदेखाई सोझै पठाउने गरेको साहका बाबु साधु साह सुडीको नाममा रहेको मिथिला आयल स्टोर्सले राजस्व छली गरेकोलगायतको प्रमाणसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।साहलाई प्रहरीले यसअघि नै जनकपुरको रामानन्द चोकमा पाँचजनाको ज्यान जाने गरी भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा पक्राउ गरिसकेको छ । जनकपुर बमकाण्डमा संलग्न भएको अभियोगमा अदालतबाट वारेन्ट जारी भएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।राजधानी दैनिकले समाचार छापेको छ ।१८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा मिथिला राज्यको माग गर्दै शान्तिपूर्ण धर्ना बसिरहेको सयौँ नागरिकमाथि धर्नास्थलमा बम विस्फोट गराएको अभियोग उनीमाथि छ ।जहाँ पाँचजनाले ज्यान गुमाएका थिए । कांग्रेस, एमाले हुँदै मधेसकेन्द्रित राजनीतिमा होमिएका साह मधेस आन्दोलनपछि मधेसी जनअधिकार फोरम, फोरम लोकतान्त्रिकलगायतका दलमा प्रवेश गर्दै राज्यमन्त्रीसम्म बनेका हुन् ।तराईका सीमा क्षेत्रको पोके तस्करी हुँदै राजनीतिमा पकड जमाएका साह जानकी मन्दिरको गुठीको जग्गामा घोटाला गर्नेदेखि लिएर व्यक्ति हत्या हुँदै २०६८ माघदेखि २०६९ पुससम्म काठमाडौं उपत्यकाका सम्पूर्ण प्रहरीलाई रासन खुवाउने ठेक्कामा सहभागी थिए । रासन ठेक्कादेखि सुरु भएको उनको अनियमितता प्रकरण राज्यमन्त्रीसम्म बन्दा उत्कर्षमा पुगेको अख्तियारको दाबी छ ।११ वर्षअघिसम्म सम्पत्तिको नाममा जम्मा १० धुर जग्गा भएका लोहनाका–७ धनुषाका साह रातरात अर्बपति बनेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।धीरापुर गाविस, महोत्तरीका तत्कालीन गाविस अध्यक्ष हेमचन्द्र यादवका छोरा पप्पुलाई १७ चैत २०५७ मा अपहरण गरेर १० लाख रुपैयाँ फिरौती लिएर छाडेपछि उनी दादागिरी र आर्थिक अपचलनमा मुछिन थालेको प्रहरीको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित