देशको समृद्धिका लागि मिलेर अघि बढौँ: डा. महतो
लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) संस्थापक डा.उपेन्द्र महतोले देशको समृद्धिका लागि मिलेर अघि बढ्न विदेशमा बस्ने नेपालीलाई आग्रह गरेका छन् ।
गैरआवासीय नेपाली संघको एनआरएनए एकेडेमीद्वारा आइतवार आयोजित आर्थिक पारदर्शिता र व्यवस्थापनसम्बन्धी एक भर्रचुअल अन्तरक्रियालाई सम्बोधन गर्दै उनले देश समृद्ध नभएसम्म व्यक्तिगत सफलताको मात्र कुनै अर्थ नहुने बताए । उनले अहिले विश्वले पुँजीलाई भन्दा ज्ञान, सिप, परम्परा, संस्कार र अनुभवलाई ठूलो महत्व दिन थालेको बताए ।
डा. महतोले विदेशमा संघर्ष गरेर केही हदसम्म नेपालीहरु स्थापित हुनसकेकोका खुशी व्यक्त गर्दै विदेशमा सिकेको ज्ञान सिप अनुभव देशमा लगाउन आग्रह गरे ।
उनले नेपाललाई आर्थिक समृद्धि मात्र होइन बौद्धिक, धार्मिक, संस्कृति रुपमा पनि समृद्धि बनाउन लाग्नु पर्नेमा जोड दिए । डा. महतोले देशको समृद्धिको लागि काम गर्न चुनौतीपूर्ण भए पनि यसलाई अवसरको रुपमा लिनु पर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले संघको अभियानको स्थापनानै देशमा ज्ञान, सिप र अनुभवलाई देशमा भित्र्याउने उद्देश्यले भएको स्मरण गर्दै नेपालको समृद्धिको लागि काम गर्न गम्भीर भएर लाग्न आग्रह गरे ।
गैरआवासीय नेपाली संघको उपाध्यक्ष महेश श्रेष्ठले संघभित्र वार्षिक बजेटको परिचालनको बारेमा आफ्ना भनाईहरु राखेका थिए ।
प्रतिक्रिया