एयरपोर्टमा यो कस्तो सुरक्षा ? सुन तस्करीको क्रममा ११ औं पटकमा शाही पक्राउ

sun काठमाडौं ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी र भन्सारका कर्मचारीको मिलोमतोमा गत एक वर्षमा तीन सय किलोभन्दा बढी सुन बाहिर ल्याउन आफू सफल भएको दाबी प्रहरी हिरासतमा रहेका गोपालबहादुर शाहीले गरेका छन् ।  आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

बिहीबार ३३ किलो सुनसहित प्रहरीले पक्राउ गरेका शाहीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग यस्तो बयान दिएका हुन् । शाहीले सुन तस्करीमा संलग्न केही नेपाली तथा भारतीय व्यापारीको नामसमेत खोलेको सीआईबी स्रोतले उल्लेख गरेको छ ।

दुबईका कारोबारीसँगको साँठगाँठमा नेपालमा सुन तस्करी गर्दै आएका नेपालगन्जका शाहीबारे सीआईबीले दुई महिनादेखि सूचना संकलन गर्दै आएको थियो । ‘तपाईंहरू सुन तस्करीको शृंखलामा ११ औं पटकमा मलाई समात्न सफल हुनुभयो । यसअघि पटकपटक गरेर तीन सय किलो सुन विमानस्थलको घेराबाट बाहिर पठाइसकेको थिएँ- शाहीको बयान उद्धृत गर्दै सीआईबीका एक उच्च अधिकृतले भने ।

शाहीले प्रहरीलाई उपत्यकामा बसेर तस्करीमा सेटिङ गर्ने केही व्यापारी र भारतीय व्यापारीका नामसमेत खुलाएको स्रोतले बताएको छ । सीआईबीका प्रमुख डीआईजी नवराज सिलवालले घटनामा ठूला व्यापारी, विमानस्थलकै उच्चपदस्थ कर्मचारी र अन्य गिरोहको मिलोमतोमा सुन बाहिरिएको दाबी गर्दै अनुसन्धानले पूर्णता नपाएसम्म बरामद सुन राजस्व अनुसन्धान विभागको जिम्मा नलगाउने बताए ।

उनले भने, ‘बिहीबार बरामद सुन तस्करले पहिलो प्रयासमा विमानस्थलबाट बाहिर ल्याउन सफल भएका होइनन् । यसमा ठूलै मिलोमतो छ । विस्तृत अनुसन्धान गरेर मात्रै सुन राजस्वलाई बुझाउँछौं ।'- गृह मन्त्रालयमा शुक्रबार साँझ बसेको बैठकका क्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले तस्करीमा जोसुकै संलग्न भए पनि कारबाही गर्न प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र डीआईजी सिलवाललाई निर्देशन दिए ।प्रहरी महानिरीक्षक अर्याल शुक्रबार बिहान सीआईबी पुगेर प्रहरीले देखाएको अग्रसरताप्रति स्याबासी दिँदै तस्करीमा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन सिलवाललाई निर्देशन दिएका थिए । ‘यो घटनामा को -को प्रहरी, भन्सारका कर्मचारी र व्यापारी मिलेका छन्, सबैलाई कारबाहीको दायरमा ल्याउनुस-, अर्यालले भने ।बिहीबार प्रहरीले सुन बरामद गर्दा सुटकेसबाट सुनका २० थान सिक्री आकारका माला र १९ थान बेरुवा औंठीसमेत बरामद गरेको थियो । सीआईबीले बिहीबार शाही, मोरङ पथरीका दिलबन्धु थापा र जनकपुरका सन्तोष काफ्लेलाई ३३ किलो सुन बरामद घटनामा पक्राउ गरेको थियो ।विमानस्थल सुरक्षा प्रमुख डीआईजी गोविन्द निरौलाले सुरक्षा निकायको जिम्मेवारी पन्छाउँदै यो घटनामा भन्सार बढी जिम्मेवार रहेको दाबी गरे । उनले भने, ‘भन्सारमा सामान पुगेपछि प्रहरीले खोलेर हेर्न मिल्दैन । उसले कुन सामान राख्ने र नराख्ने निर्णय लिन्छ ।हामीसँग समन्वयमा भन्सारले कुनै काम गर्दैन तर पनि प्रहरीको संलग्नता पाइए कारबाही हुन्छ ।' उनले सीआईबीको समन्वयमा विमानस्थलको सीसीटीभी र कर्मचारीको कलडिटेल जाँच गरिरहेको बताए । सुनसहित पक्राउ परेकालाई सीआईबीले संगठित अपराधमा मुद्दा चलाउने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित