साक्षी राखेर हाकिमका लागि भन्दै यसरी लिइन्छ घुस

यदुनाथ बञ्जारा ghusपोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला माछा पक्रन नसके पनि सरकारी कार्यालयका साना माछाहरुलाई भने बेला बेलामा पक्राउ गरिरहेकै छ । अझ लोकमानसिंह कार्कीको अख्तियारबाट पलायनसँगै केन्द्रीय देखि क्षेत्रीय कार्यालयका कर्मचारीहरु नै असुली धन्दामा लागेकालाई जोगाएर उल्टै भ्रष्टाचारलाई मलजल पु-याउन उद्दत छन् । पाँच हजार भन्दा कम घुस खाने सरकारी कर्मचारीहरु समेत अख्तियारको फन्दामा पर्दै आएका छन् । जसले गर्दा सेवाग्राहीले केही राहतको महसुस गरेका पनि छन् । अख्तियारले दुई हजार घुस खाएका कर्मचारीलाई समेत पक्राउ गरेको हामी सबैमा सर्वविदितै छ ।

 यति हुँदा सम्म पनि अधिकांश सरकारी कार्यालयहरुले सेवाग्राहिलाई विना कारण दुःख भने दिन छोडेका छैनन् । यसको पछिल्लो उदाहारण हो, घरेलु तथा साना उद्योग कार्यालय, पोखरा । घरेलु तथा साना उद्योग कार्यालय पोखराले सेवाग्राहीलाई विभिन्न बहाना बनाएर हैरानी दिने र घुस नखाई कामै हुँदैन भन्ने गार्ईगुईं चर्चा पहिल्यैबाट चल्ने गरेको थियो ।

 कतिपय सेवाग्राही कर्मचारीले दुःख सास्ती दियो भन्दै सुस्केरा काढेर मरिजाओस् त नि बरु भन्दै भेटी चढाएर आफ्नो काम लिन बाध्य भएका गुनासाहरु पनि यो पंक्तिकारले धेरैपटक सुनेकै हो । तर, पनि आँखाले नदेखेको र प्रमाणले नभेटेको कुरालाई केवल आरोपका लागि आरोपमात्र लगाउनु पनि हाम्रो धर्म र कर्म थिएन । आखिर सत्य त केवल सावित भएरै छाड्छ । प्रबृत्ति र नियतमा नै खोट भएपछि कुनै न कुनै रुपमा एक दिन तथ्य उदाङ्गो भएरै छाड्छ । सेवाग्राहीमा चेतना आयो भने यस्ता घुस्याहा कर्मचारीहरुलाई ठेगान लगाउन मद्धत पुग्छ नै ।

 यस्तै एउटा घुस प्रकरणको पटाक्षेप भएको छ । घरेलु तथा साना उद्योग कार्यालय पोखरामा । एउटा प्रेस उद्योगको लागि विद्युतको क्षमता बढाउन घरेलु कार्यालय पोखरामा पुगेका एकजना सेवा ग्राहीलाई त्यहाँ कार्यरत उद्योग दर्ता शाखाका फाँटवाला (खरिदार) यदुराम अधिकारीले करिब हप्ता दिनसम्म झुलाए । सबै कागज पुरा भइसक्दा पनि कोटेशन र स्कीम बनाउन पर्छ भन्दै तिनतिरै झुलाए । उनले डुलाएको ठाउँमा केही सिप नलागेपछि ति फाँटवालाले ५ हजार रुपैयाँ दिए आफैले स्कीम बनाइदिने बताए । सेवाग्राहीको मेसिन के–कस्तो छ थाहा नभएको कर्मचारीले स्किम बनाउने भने पछि हैरान खाएका सेवाग्राहीले कर्मचारीको नियत बुझे । पैसा लिएर नआएसम्म फाइल अगाडि नबढ्ने अडान लिएपछि सेवाग्राही हाम्रो सम्पर्कमा आए ।

 सबै तिर्नुपर्ने कर दस्तुर तिरिसके ५ हजार छुट्टै रकम मागेका छन् के गरु ? भन्दै मसँग पैसा सापट मागे । मैले भने घुसको लागि ऋण, सापट नखोज, अख्तियारले गर्छ खर्च भनेर सेवाग्रहीलाई सम्झाए । २०७३ पुष १३ गते विहान १०ः३० बजे म र मेरो एकजना रिपोर्टर पारिजात खराल अख्तियारको क्षेत्रीय कार्यालय पोखरामा पुग्यौं । गोप्यता भंग गरेमा अपरेशन फेल हुन्छ भनेर हामीले प्रमुखसँग भेट्न पुग्यौं । संयोगवश त्यस दिन अख्तियार क्षेत्रीय प्रमुख जानकी वल्लभ अधिकारी र सुरक्षा प्रमुख डिएसपी गोविन्द थपलिया सँगै थिए । हामीले घरेलु कार्यालयका फाँटवालले गरेको घटनाको वेलिविस्तार लगायौं । घुस लेनदेनको निर्विकल्प परिस्थिति बारे पनि अवगत गरायौं । सेवाग्राहीसँग सम्पर्क गरि यथार्थ विवरण बुझ्न उनको फेहरिस्त पनि टिपायौं ।

  हामीले यति सावधानी पूर्वक सरकारी कार्यालयले गर्न खोजेको घुस काण्डको पटाक्षेप गरेर कानुनी दायरामा उभ्याउन खोजेका थियौं र हामी भ्रष्टचार निवारण गर्न संविधानले व्यवस्था गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पूर्ण विश्वास र भरोसा पनि गर्छौ, गर्दै आएका पनि छौं । यस अघिका कार्यालय प्रमुखसँग भ्रष्टचार निवारणका लागि स्ट्रिङ अपरेशनमा सहयोग पु¥याउँदै आएका पनि हौं । त्यही विस्वास र आस्थाको कारण हामीले अख्तियारलाई फेहरिस्त सुनायौं । सेवाग्रहीलाई सम्पर्क गर्ने भन्दै नम्बर पनि दिइयो । सेवाग्रहीले पनि डिएसपी गोविन्द थपलियालाई ९८५६०८०००० मा फोन गरेर आफूसँग घरेलु कार्यालयका फाँटवालाले गरेको व्यवहार र घुस मागेको बारे प्रष्ट पारे ।

 तर, डिएसपीले सेवाग्रहीलाई निरास पार्ने गरि कार्यालय प्रमुखसँग भेटेर काम मिलाउन सल्लाह दिए । अख्तियारबाट यो घुस काण्डको अप्रेशन नहुने निष्कर्षमा हामी पुग्यौं । संवैधानिक निकायले एउटा सचेत सेवाग्राही (नागरिक) को आँट र साहसलाई अपमान गरेर निरुत्साहित तुल्याए पछि सेवाग्राही र यो कलमकर्मी कर्मचारीको नियत बुझ्ने चेष्ठामा पुग्यौं । खरिदार यदुराम अधिकारीले सेवा ग्राहीलाई लिएर ८ नंं. कोठा (स्टोर) मा छिरे । म पछि पछि लागे । म र मेरो क्यामेराले आफ्नो धर्म निभाइरहेको थियो ।

 उनी कुर्सीमा बसे । तयार भएको फाइल दर्ता गर्न दर्ता चलानी शाखामा पठाए । म सँग परिचय मागे । मैले छदम परिचय दिएँ तराईबासी बनेर । सेवाग्राही आइपुगे । फाइल लिए । त्यहाँबाट सिफारिस पत्र निकाल्नु अगाडि अब त चाहियो नि । सेवाग्राही एक छिन चुप चाप उभिए । खै त भन्दै आग्रह गरे पछि सेवा ग्राहीले खल्तीबाट ५ सयका १० वटा नोट निकालेर दिए । उनलाई आफूले भनेजती छैनकी भन्नेमा शंका लागेछ । घर्रा अलिकति तानेर पुरै नोट गनेपछि ठीक छ । यस्तो पैसा पहिल्यै लिनु राम्रो हुन्छ भन्दै आफ्नो मिठो अनुभव सुनाउँदै एक पाने पत्र सेवाग्रहीलाीई थमाए । यो पंक्तिकारले यति सहजै राष्ट्रसेवक कर्मचारीले घुस खान्छन् भन्ने सोचेको पनि थिएन । कतिपय अख्तियारले गर्ने स्टिङ अपरेशनमा रिपोर्टिङ गरेको अनुभव छ हामीसँग ।

 जवर्जस्ती मलाई फसाउन पैसा फाल्यो भन्दै कर्मचारीहरु टक्टकिन्थे । घुस लिएपनि होटलमा अधेँरा कोठामा या कार्यालयको कक्षमा एक्लै पारेर टेवुल मुनीबाट लिन्थे । तर, यस प्रकरणमा हाकाहाकी तेस्रो मान्छे साक्षी राखेर टेवुल माथिबाटै सिधै घुस लिने ति कर्मचारी र त्यस्तो घटनाको स्पष्ट सूचना पाएर पनि वेवास्ता गर्दै कार्यालय प्रमुखलाई भनेर आफ्नो काम गर्नु भन्ने अख्तियारका क्षेत्रीय प्रमुख जानकी बल्लभ अधिकारी र डिएसपी गोविन्द थपलियाको कार्यशैलीकाबीच तारतम्य भएको कुरा यदि संयोग हैन भने अब नागरिकले अख्तियारलाई सम्भावित घुसकाण्डको सूचना किन दिने ? यो प्रश्नले मलाई त घोच्यो नै यो प्रकरणले धेरैलाई घोच्न सक्छ । विहान १०ः३० बजे अख्तियारलाई जानकारी दिएको यस प्रकरणमा अपरान्ह २ः३० बजेमात्र सेवाग्राहीलाई पटक–पटक खबर गरेपछि गएका छन् । उक्त दिन अख्तियार प्रमुख अधिकारी र डिएसपी थपलिया अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलयमा पुगेका थिए ।

 जसका कारण एउटा स्टिङ अपरेशन टारियो । अब प्रश्न उठ्छ कति रकम घुस खानेलाई मात्र कारवाही गर्ने ? घुस खाने कर्मचारीको नियत ठूलो कि रकमको मूठो ठूलो ? प्रत्येक जसो सेवाग्राहीलाई यही तवरले घुस खानेलाई वेवास्ता गर्ने हो भने कसरी हुन्छ भ्रष्टाचार नियन्त्रण ? लोकमान सिंह कार्कीको निलम्वन पछि मैले बुझेको पहिलो प्रकरण हो यो सुस्तता ।

  घुस लिने कर्मचारीले ४ दिन पछि पुष १७ गते सेवाग्राहीको निवास स्थान खोज्दै आएर पुष १३ गते लिएका घुस सेवाग्राहीको खल्तीमा हालेर फिर्ता गरेका छन् । जतिको तती रकम पाँच हजार । फरक यति छ सेवाग्रहीले ५ सयका १० वटा नोट दिएका थिए । खरिदार (फाँटवाला) यदुराम अधिकारीले एक हजारका ५ वटा नोट फिर्ता दिए । धिक्कार यो देशका हामी जनता ! ओली सरकारले २५ प्रतिशत तलब बढाउदा पनि यिनै गरिब जनताका रगत पसिना चुसेर घुस खान लाज नमान्ने किन कसको आदेशमा फिर्ता गरे घुस रकम ? घुस प्रकरण यथार्थ रहेको बारेमा यो कलमधर्मीले डिएसपी थपलियालाई टेलिफोनबाट तत्काल जानकारी पनि गराएको नै हो । सामान्य रुपमा उनले भने एउटा उजुरी दिनुस् न । रंगेहात समात्न सूचना दिंदा त त्यतै हाकीमलाई भनेर कुरा मिलाउनुस् भन्ने डिएसपी र प्रमुखलाई उजुरी दिएर दुःख किन गर्ने ? अब उजुरीको के औचित्य । हुनत हामीसँग आफ्नो प्रमाणको लागि पुग्ने अडियो भिडियो र घुस दिएको र फिर्ता भएको नेपाली नोटको फोटो सुरक्षित छ । अख्तियारले केही नगरे पनि म मेरो कलमको धर्म निर्वाह गर्न किञ्चित पछि हट्ने छैन । जय नेपाली जनता ।यूनाइटेड पोस्ट साप्ताहिकबाट

प्रतिक्रिया

सम्बन्धित