अर्वौको टेण्डर हत्याउन गगन थापाको वरिपरी काभ्रेली डन

dondawaकाठमाडौं । काभ्रेली समूहका डन गणेश लामा भूमिगत जस्तै बनेपछि उनका सहयोगी दावा लामा यतिखेर जबर्जस्ती अरबौंका टेण्डर कब्जा गरी गणेशको ठाउँ लिन लागि परेका छन् । लागूऔषध, ज्यान मार्ने उद्योग र अपहरण मुद्दामा रहस्यमय तरिकाले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएर केही समय भारतमा लुकी नेपाल फर्किकका गुण्डा नाइके दावा लामाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अरबौंको टेण्डर हात पार्न सहयोगीहरु परिचालन गरिसकको स्रोतको भनाई छ ।

 मन्त्रालयले नवजात शिशुका लागि सुुनौलो हजार दिन र न्यानो झोला कार्यक्रम अन्तर्गत एक अर्व २७ करोड बराबरको रकमको टेण्डर आब्हान गर्न लागिरहेको बेला लामाको समूहले स्वास्थ्य मन्त्री गगन थापालाई प्रभावमा पारी उक्त टेण्डर हत्याउन खोजेको मन्त्रालय स्रोतले बतायो ।

 व्यापारी अजय गुप्ताको नाममा रहेको गुप्ता इन्टरप्राइजेज र नेपाल पासाङल्यामु इन्टरप्राइजेजमार्फत लामाले उक्त टेण्डर हत्याउनका लागि आफ्ना सहयोगी सांसद तिर्थ लामा, सुन्दरमणी आचार्य, सुरेन्द्र देउजालगायतलाई हातमा लिई मन्त्री थापाको वरिपरि घुम्न थालेका छन् । खगराज अधिकारी स्वास्थ्य मन्त्री छँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले उक्त टेण्डर रोकेका थिए ।

 तर अहिले भने अख्तियारले उक्त टेण्डरको फाइल नै बन्द गराएका कारण स्वास्थ्य मन्त्री थापाले पुनः टेण्डर खोल्न लागेका हुन् । स्वास्थ्य मन्त्री थापासँग लामाले प्रत्यक्षरुपमा नभेटेपनि गुप्तामार्फत माघ महिनामा निस्कने उक्त टेण्डरका लागि आफू अनुकुलको ‘स्पेसिफिकेसन’ बनाउन दबाब दिने गरेको बताइएको छ । त्यसैगरी मन्त्रालयले गर्दै आएको पौष्टिक आहार सम्बन्धि कार्याक्रमका लागि पनि लामाले विभिन्न अस्पतालहरुमा टेण्डर हालिसकेका छन् भने प्राइभेट अस्पतालहरुमा औषधी र उपकरण सम्बन्धि टेण्डर हाल्ने नाममा सञ्चालकहरुलाई भित्र भित्रै धम्क्याउन थालिसकेका छन् । कुनै बेला गणेश लामाको सहयोगी रहेका लामाले पछिल्लो समय आफ्नै समूह खडा गरेका छन्  ।

 दावाले ठेक्का कब्जा गर्न, व्यापारीबाट रकम असुली गर्न र अन्य गुण्डाका समूह तह लगाउन करिब २५ जना युवाको समूहलाई परिचालन गरेको सूचना आएको महानगरिय प्रहरी अपराध महाशाखाका एक प्रहरी अधिकारीले बताए । लामाले दार्चुलाका बीरेन्द्रबहादुर कुँवर, प्रविण नाम गरेका व्यक्ति तथा जेल सजाय काटि बाहिर निस्केका केही आपराधिक व्यक्तिहरुलाई हातमा लिएर पुनः अपराधको यात्रा शुरु गर्न लागेका छन् । हालैमात्र उनले भक्तपुरमा आफ्ना सहयोगी मार्फत टेण्डर हात पारी बाटो निर्माणको काम शुरु गरेका छन् । जुन पूर्व उद्योगमन्त्री महेश बस्नेतको क्षेत्र हो ।

 लामा काभ्रेबाट निर्वाचित कांग्रेसका सांसद तीर्थ लामाको व्यापारिक कारोबारमा समेत संलग्न रहेको बताइएको छ । लामाको समूहले ललितपुरको सुनाकोठी–८ निवासी ३४ वर्षीय राजन श्रेष्ठलाई दुई वर्षअघि खुकुरी प्रहार गरेको थियो  । त्यस्तै, महाराजगञ्जबाट बूढानीलकण्ठ गइरहेको अवस्थामा व्यापारी सुनील अग्रवालबाट पनि लामाको समूहलले ११ लाख ५० हजार रुपैयाँ लुटेको थियो । लामाको समूहले ग्रवालबाट पटक–पटक गरेर करिब ४१ लाख रुपैयाँ असुलेको प्रहरी अनुसन्धानले देखाइसकेको छ ।

 लामो समयदेखि गुण्डागर्दीमा संलग्न लामा प्रदीप बोगटीलाई कुटपिट गरी उनको साथमा रहेको १९ लाख रुपैयाँ लुटेर फरार भएका थिए । लामाको समूहले काभ्रेमा बुद्धचित्त माला लुटपाटसमेत गरेको थियो ।

 शुरुमा लामासँगै काम गर्ने गुण्डा नाइके कुमार घैंटेको प्रहरी इन्काउन्टरमा ज्यान गइसकेको छ । हाल प्रहरी हिरासतमा रहेका काजी शेर्पाको समूह हुँदै काभ्रेली समूहमा रहेर गुण्डागर्दी गर्दै आएका लामालाई ठूलो राजनीतिक संरक्षणमा रहेका कारण प्रहरीले कारबाही गर्न सकेको छैन.यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित